
काठमाडौं— जल तथा मौसम विज्ञान विभागले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा आएको बाढीबारे प्रारम्भिक धारणा सार्वजनिक गरेको छ।
विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरू मध्य कुनै हिमताल विस्फोट भएको हुन सक्ने जनाएको छ।
शुक्रबार दिउँसो करिब १:३० बजे थामेखोलामा एक्कासी बाढी आएको घट्नाको प्रारम्भिक अध्ययन गर्दा थामे खोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा साना ठूला गरी ६ वटा हिमताल तथा हिमपोखरीहरू रहेको विज्ञप्तिमा उल्लेख छ।
यस्तै उक्त क्षेत्रको नजिक रहेको फोर्त्से केन्द्रमा विगत ७ दिनमा कुल ६५ मि.मि. वर्षा मापन भएको र साउन २५ गतेदेखि दैनिक औसत तापक्रममा क्रमिक वृद्धि भएको पाइएको विज्ञप्तिमा उल्लेख छ। तापक्रम बढ्दै जाँदा साउन ३१ गतेको अधिकतम तापक्रम १५.९ डिग्री सेल्सियस पुगेको विभागको भनाइ छ।
‘अतः माथि उल्लेख भएबमोजिमका विभिन्न प्रारम्भिक जानकारीबाट निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरू मध्य कुनै हिमताल विस्फोट भएको हुन सक्ने देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ।
सो बाढीको कारण जल तथा मौसम विज्ञान विभागको दूधकोशी र बुवा बजार बाढी मापन केन्द्र, खोटाङमा जलसतह आज साँझ ५:१० बजे ४.२९ मिटरबाट ३० मिनेटमा एक्कासि करिब १.२० मिटर बढी साँझ ५:४० बजे ५.५३ मिटर पुगेको थियो ।
तर, सो समय पश्चात बिस्तारै बाढीको सतह घट्न थालेकोले र बुवा बजार भन्दा तल्लो तटीय क्षेत्रमा तत्काल ठुलो जोखिम नहुने देखिएपनि दूधकोशीको नदीतटीय क्षेत्रमा भोलि बिहानसम्म सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
यस घटनाको सम्बन्धमा विभागले थप अध्ययन गर्ने पनि जनाएको छ।