
सोलुखुम्बु— थामे खोलामा आएको बाढीका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेमा १२ घरसहित स्कुल र क्लिनिकमा क्षति पुगेको छ। बाढीमा एक स्थानीय बेपत्ता भएका छन्।
दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलाको सिरदेखि नै एक्कासि पानीको बहाव बढ्दा थामे १२ घर (होटलसहित) बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी द्वारिकाप्रसाद घिमिरेले बताए। उनका अनुसार स्थानीय एक जना बाढीमा बेपत्ता भएका छन्। दिउँसोको घटना भएकाले अन्य मानवीय क्षति भने हुन पाएन।
प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डेले दिएको जानकारीअनुसार घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरीको टोली पुगिसकेको छ। दूधकोशी नदीको तल्लो तटीय क्षेत्र भने खतरामुक्त रहेको छ।
थामे खोलको शिरमा रहेका हिमताल फुटेर या कुनै पहाड खसेर बाढी आएको हुन सक्ने खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिए। सिङ्गो थामेमा बाढी पसेको हुनाले उक्त क्षेत्रका ७ वटा घर अझै जोखिम पूर्ण अवस्थामा छन्।
थामेमा सञ्चार र विद्युत् सेवा प्रभावित बनेको छ। बाढीले दूधकोशी नदी बहने सोलुखुम्बु र खोटाङ क्षेत्रका नागरिक त्रसित छन्।