News Griha :: न्यूजगृह
नेपाललाई नयाँ हेलिकप्टर खरिदमा अमेरिकाले सहयोग गर्ने
प्रधामन्त्री केपी शर्मा ओली र संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड आर. वर्मा। तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

काठमाडौं— अमेरिकाले नेपाललाई नयाँ हेलिकप्टर खरिदमा सहयोग गर्न प्रतिबद्धता व्यक्त गरेको छ।

अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्माले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँगको शिष्टाचार भेटवार्तामा नेपाललाई हेलिकप्टर खरिदमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।

नेपालले नेपाली सेनालाई विपद् प्रतिकार्य प्रयासमा सहयोग गर्न अमेरिकाबाट दुई वटा हेलिकप्टर खरिदको लागि रक्षा मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयमार्फत पहल गरेको थियो। नेपालको उक्त पहलमा अहिले आएर अमेरिका सहमत भएको हो।

‘नेपाली सेनाले केही वर्षयता विपद् व्यवस्थापनको लागि हेलिकप्टर खरिद गर्न खोजिरहेको छ। यूक्रेन र रुसको युद्ध भएपछि नेपालले रुसबाट हेलिकप्टर किन्ने योजना बनाए पनि पछि विरोध भएपछि त्यसलाई अघि बढाएन। र, पछि अमेरिकासँग हेलिकप्टर खरिदको लागि पहल गरेको हो,’ रक्षा मन्त्रालय स्रोतले भन्यो। परराष्ट्र मन्त्रालयका एक अधिकारीले नेपालकै माग अनुसार अमेरिकाले सहमति जनाएको हो।

यसअघि नेपाललाई अमेरिकाले स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) अन्तर्गत हेलिकप्टर दिने भनेको थियो। तर नेपालले एसपीपीबाट बाहिरिने निर्णय गरेपछि उक्त सहयोग रोकियो। एसपीपीबाट नेपालले हात झिकेपछि अब आफैं हेलिकप्टर खरिद गर्न लागेको हो।

व्यवस्थापन तथा श्रोतसम्बन्धी अमेरिकी उप–विदेशमन्त्री वर्माको नेपाल भ्रमण सफल भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। उनले प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए। उक्त अवसरमा उनले नेपालीहरुका लागि उज्जवल, दिगो र समावेशी भविष्य निर्माण गर्ने योजनाका लागि अमेरिकी सहयोग र अमेरिका–नेपाल साझेदारीबारे कुराकानी गरेको दूतावासले जनाएको छ।

प्रधानमन्त्री ओलीसँगको शिष्टाचार भेटवार्तामा वर्माले दुईपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ। ‘नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा सन् १९५० देखि अमेरिकी सरकारले गर्दै आएको निरन्तर सहयोगका लागि प्रधानमन्त्रीज्यूले आभार व्यक्त गर्नुभयो,’ सचिवालयको भनाइ छ।

प्रधानमन्त्री ओलीले नेपालको विकासका विविध क्षेत्रमा सहयोगको अपेक्षा समेत राखेका थिए। प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ भित्र अल्पविकसित मुलुकबाट स्तनोन्नति हुने क्रममा रहेको र राजनीतिक सहमतिका आधारमा नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानूनका विषय टुङ्गो लाग्ने क्रममा रहेको पनि जानकारी गराए।

सो क्रममा उपमन्त्री वर्माले दुई देशबीचको ७७ वर्षदेखिको सम्बन्धको दुईपक्षीय सम्बन्धको स्मरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। वर्माले नेपालको विकासमा साझेदार हुन पाउनु अमेरिकाको लागि खुसीको विषय भएको बताए।

अमेरिकी उपविदेशमन्त्री वर्माले नेपालको संक्रमणकालीन न्याय टुंगोमा पुग्न लागेकामा प्रधानमन्त्री ओलीलाई बधाई दिए।

यसैगरी, वर्माले परराष्ट्रमन्त्री राणा देउवासँगको शिष्टाचार भेटवार्तामा नेपाल अमेरिका सम्बन्ध, आपसी हित, विकास सहायता आयोजनालगायतका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणकै क्रममा वर्माले एमसीसी नेपाल कम्प्याक्टको उपलब्धिको बारेमा कुरा गर्न मिलेनियम च्यालेन्ज एकाउन्ट नेपालका अधिकारीहरुसँग पनि भेटवार्ता गरेका थिए। साथै, वर्माले अमेरिकी विकास सहयोग नियोग युएसएआइडी नेपालको साझेदार नेपाल टि (चिया)–कलेक्टिभ टोलीसँग ठमेलमा चिया पिउनुका साथै महिला उद्यमीहरूसँग पनि कुराकानी गरेका थिए।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  २०:५३
Weather Update