News Griha :: न्यूजगृह
सोलुखुम्बुमा भीषण बाढी: के हिमताल फुटेको हो? 

काठमाडौं — सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले शुक्रबार दिउँसो खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा हिमताल फुटेर बाढी आएको भन्ने पुष्टि भइनसकेको बताएकी छन्।

उनले पानी परिरहेको र बाढी कहाँबाट कसरी आयो भनेर ठम्याउन नसकिएको बताइन्। उनकाअनुसार बाढीले अहिलेसम्म एउटा होटेलसहित तीन वटा घर बगाएको छ भने अन्य पाँच वटा घरहरू जोखिममा छन्। क्षतिको विवरण यकिन भइनसकेको उनले बताइन्।

सोलुखुम्बुका डीएसपी द्वारिकाप्रसाद घिमिरेले बाढी दूधकोशीको सहायक नदी ‘भोटेकोशी’मा आएको र यो दूधकोशीमा मिसिएर बग्ने भएकोले तल्लो तटीय क्षेत्रका किनारा जोखिममा रहेको बताए। 

त्यसको जोखिमबाट बच्न दूधकोशीको तल्लो तटीय क्षेत्रका मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह गरिएको उनले बताए।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १६:१२
Weather Update