
काठमाडौं— सोलुखुम्बुमा भीषण बाढी आएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेका तीनवटा घर बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।
अरु ५ वटा घर पनि जोखिममा रहेको उनले बताए। एउटा होटल पनि बगाएको छ। नाम्चे बजारबाट केही तलका अर्को घर पनि बगाएको छ। बाढीबाट मानवीय हताहत भएनभएको बुझ्न र खोज तथा उद्धारका लागि प्रहरी घटनास्थलतर्फ गएको उनले बताए।
डीएसपी घिमिरेले बाढी दूधकोशीको सहायक नदी ‘भोटेकोशी’मा आएको र यो दूधकोशीमा मिसिएर बग्ने भएकोले तल्लो तटीय क्षेत्रका किनारा जोखिममा रहेको बताए। त्यसको जोखिमबाट बच्न दूधकोशीको तल्लो तटीय क्षेत्रका मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह गरिएको बताए।
हिमताल फुटेको हल्ला आएपनि त्यसको पुष्टि भइनसकेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले बताइन्। उनका अनुसार घटनास्थल क्षेत्रमा पानी परिरहेको छ। जसकाकारण बाढी आएको हुन सक्ने अनुमान छ।
बाढीले तीन वटा घर र एउटा होस्टेल बगाएको छ भने अन्य पाँच वटा घर उच्च जोखिममा रहेको यकिन भएको प्रजिअ पाण्डेले जानकारी दिइन्। बाढीले गरेको क्षतिको पूर्ण विवरण आइसकेको छैन।
माथिबाट आएको बाढीको असर दूधकोशी नदीसँग जोडिएका खुम्बुपासाङ गाउँपालिका, माप्यदुधकोशी र थुलुङ दूधकोशी गाउँपालिकाका नदी तटीय क्षेत्र उच्च जोखिममा परेका छन्।
दूधकोशी नदी तीनवटा पालिका पछि खोटाङ र खोखलढुंगाका वरिपरिका तटीय बस्ती पनि उ जोखिममा परेका छन्। दूधकोशी खोटाङ र उदयपुर हुँदै सप्तकोशीमा मिसिन्छ।