News Griha :: न्यूजगृह
सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी

काठमाडौं— सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ।

दूधकोशीको सहायक खोला (थामे) मा शुक्रबार दिउँसो एक्कासि आएको बढीले खुम्बु पासाङल्हामु गाउँपालिका वडा ५ मा पर्ने थामे गाउँ प्रभावित भएको छ।

बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ थामे मा केही घरहरू बगाएको छ।

स्थानीयका अनुसार केही दिनदेखि वर्षा त भइसकेको थियो, तर यति ठूलो बाढी आउने अवस्था थिएन। त्यसैले माथिल्लो भेगमा रहेको हितताल फुटेको हुनसक्ने स्थानीयको आशङ्का छ।

‘हिमपहिरो हो कि हिमताल फुटेको यकिन भइसकेको छैन’ प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले भनिन्।

स्थानीय थामे खोला (दूधकोशीको सहायक खोला)मा आएको बाढीले गाउँ डुबानमा परेको वडाध्यक्ष पासाङ ग्याल्जेन शेर्पाले जानकारी दिए। उनका अनुसार थामे गाउँमा ४५ घरधुरी छन्।

थामे गाउँ पुग्न सोलुखुम्बु सदरमुकामबाट ४ दिन लाग्ने शेर्पाले जानकारी दिए। ‘अहिलेसम्म मानवीय क्षतिबारे जानकारी आएको छैन, हामी बुझ्दैछौँ,’ उनले भने।

थामेको बाढी दूधकोशीमा मिसिएसँगै दूधकोशी तटीय क्षेत्रमा जोखिम रहेकोले गाउँपालिकाले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन अपिल समेत गरेको छ। दूधकोशी नदी बहने सोलुखुम्बु र खोटाङ क्षेत्रका नागरिकहरूमा त्रास बढेको छ। बाढीले के कति मानवीय क्षति पुर्‍यायो यकिन भने हुन सकेको छैन।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १५:४३
Weather Update