News Griha :: न्यूजगृह
सरकारले काभा महिला भलिबल खेल्ने नेपाली खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने

काठमाडौं— सरकारले काभा महिला राष्ट्रिय भलिबल लिगमा उपविजेता बनेका नेपाली खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंमा भएको उक्त प्रतियोगितामा नेपालका तर्फबाट खेल्ने १४ जना खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँका दरले पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको हो।

सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम २८ बमोजिम काभा महिला राष्ट्रिय भलिबल लिगमा नेपालको तर्फबाट सहभागी खेलाडी १४ जनालाई जनही ३ लाख रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

उनका अनुसार नेपाली टोलीका मुख्य प्रशिक्षक १ जनालाई दुई लाख, व्यवस्थापक, प्रशिक्षक र फिजियो गरी तीन जनालाई जनही १ लाख २० हजार रुपैयाँका दरले पुरस्कार तथा सम्मान वितरण गर्ने निर्णय भएको छ।

मन्त्रिपरिषद् बैठकले काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता श्रीराम खनाललाई नेपाल कानून व्यवसायी परिषद्को सचिव पदमा खटाउने निर्णय गरेको छ।

बैठकले २०८१ असोज ५ देखि १४ गतेसम्म बेलायतमा हुने लोकसेवा आयोगको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रममा सहभागी हुन लोकसेवा आयोगका पदाधिकारीहरुलाई स्वीकृति दिएको छ।

त्यस्तै, राजस्व न्यायाधिकरण पोखराको कानून सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश सुदर्शनराज पाण्डेलाई तोकेको छ। बैठकले आर्थिक वर्ष ०७९/८० र २०८०/८१ मा लगातार दुई वर्षसम्म वार्षिक एक सय जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतपत्र प्राप्त संस्थाको इजाजतपत्र चालु आर्थिक वर्षका लागि समेत नवीकरण गर्न आएमा अन्तिम पटकका लागि नवीकरण गर्न बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १४:४४
Weather Update