News Griha :: न्यूजगृह
अस्ट्रेलियाका लागि राजदूतमा सिफारिस रिजालको नाम फिर्ता

काठमाडौं— अस्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस कान्ता रिजालको नाम फिर्ता भएको छ।

रिजालले इजरायलको राजदूत रहेका बेला नेपालबाट लगेका एकजना सहयोगीलाई उतै छाडेर आएको उजुरीपछि उनको नाम फिर्ता भएको स्रोतले जानकारी दिएको छ।

उनीविरुद्धको उजुरीअनुसार उनले लगेका दुई सहयोगी मध्ये एकजना मात्र स्वदेश फर्केको पाइएको छ। उनलाई इजरायलबाट फिर्ता गर्ने समयमा एमाले र माओवादी केन्द्रको सरकार रहेको थियो।

कूटनीतिक नियुक्ति पाउने व्यक्तिले दुई जनासम्म घरेलु सहयोगी विदेश लिएर जान पाउने व्यवस्था छ। त्यही व्यवस्थाअनुसार रिजालले पनि दुईजना सहयोगी इजरायल लगेकी थिइन्।

तर, उनले एक जनालाई उतै छाडेको भन्ने आरोप लागेपछि उनको नियुक्तिबाट सरकार पछि हटेको हो। रिजाल सत्तारुढ नेपाली कांग्रेसको तर्फबाट अस्ट्रेलियाका लागि राजदूत सिफारिस भएकी थिइन्।

पूर्ववर्ती प्रचण्ड नेतृत्वको सरकारले ११ जना राजदूत फिर्ता गर्ने क्रममा उनी पनि परेकी थिइन्। प्रचण्ड सरकारलाई हटाएर बनेको केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले गत असार ३० गते १८ देशमा राजदूत सिफारिस गर्दा रिजाल पुनः परेकी थिइन्।

मन्त्रिपरिषद्ले सिफारिस गरे पनि सरकारले संसदीय सुनुवाइका लागि पठाउँदा उनको नाम सूचीबाट हटाएपछि उनीविरुद्ध उजुरी परेको खुल्न गएको हो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १०:१९
Weather Update