बढ्यो अष्ट्रेलियामा बेरोजगारी दर

काठमाडौं— अष्ट्रेलियामा बेरोजगारी दर बढेर दुई वर्षयताकै उच्च स्तरमा पुगेको छ।

अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस)ले बिहीबार सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कअनुसार जुलाईमा अष्ट्रेलियाको बेरोजगारी दर बढेर ४.२ प्रतिशत पुगेको छ। गत जून महिनामा यो दर ४.१ प्रतिशत थियो। हालको बेरोजगारी दर सन् २०२१ को नोभेम्बर पछिकै उच्च हो।

अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी)का अनुसार अर्थशास्त्रीहरूले जुलाईमा बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर रहने अनुमान गरेपनि बेरोजगारी दर निरन्तर बढ्ने सङ्केत पछिल्लो तथ्याङ्कले देखाएको छ। 

जुलाईको मध्यसम्ममा रोजगार अष्ट्रेलियाको कूल सङ्ख्या ५८ हजार २०० ले बढेर एक करोड ४४ लाख ६० हजार पुगेको छ। सोही अवधिमा बेरोजगारको सङ्ख्या २३ हजार ९०० ले बढेर छ लाख ३७ हजार १०० पुगेको छ जुन सन् २०२१ को नोभेम्बरपछि सबैभन्दा बढी हो।

सहभागिता दरले कार्यरत वा सक्रिय रूपमा काम खोजेका काम गर्ने उमेरका अष्ट्रेलियालीको अनुपात मापन गर्दछ। यो सङ्ख्या जुनमा ६६.९ प्रतिशत रहेकोमा बढेर जुलाईमा ६७‍‍.१ प्रतिशतको उच्च रेकर्ड कायम भएको छ।

यसैक्रममा रोजगारी अनुपात ०.१ प्रतिशतले बढेर ६४.३ प्रतिशत पुगेको छ, जसले जनसङ्ख्या वृद्धिभन्दा रोजगारीको वृद्धि तीव्र रहेको प्रष्ट पार्छ। सन् २०२३ नोभेम्बर मा ६४.४ प्रतिशतको उच्च रेकर्डभन्दा केही कम रहेको सङ्केत गरेको एबीएसका श्रम तथ्याङ्क प्रमुख केट ल्याम्बले विज्ञप्तिमार्फत जानकारी गराएका छन्। 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  २१:५२
Weather Update