
काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले काठमाडौं उपत्यकामा डेङ्गु नियन्त्रण गर्ने विषयमा उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिहरुसँग छलफल गरेका छन्।
काठमाडौं, भक्तपुर र ललितपुरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या वृद्धि भएसँगै महामारीको रूप लिनसक्ने जोखिम देखिएपछि नियन्त्रणका लागि आवश्यक सहकार्य गर्न मन्त्री पौडेलले स्थानीय तहका जनप्रतिनिधिहरुसँग छलफल गरेका हुन्।
छलफलमा मन्त्री पौडेलले स्थानीय तहसँग मिलेर काम गर डेङ्गु नियन्त्रण गर्न सकिने बताए। उनले नीतिगत निर्णय र थप सहकार्यका लागि मन्त्रालय तयार रहेको उल्लेख गरे। ‘उपत्यकामा डेङ्गु नियन्त्रण हामीले प्राथमिकतामा राखेका छौँ,’ उनले भने, ‘आम नागरिकलाई जोगाउन सहकार्य जरुरी छ।’
साउनदेखि फैलिएको डेङ्गु भदौ र असोजमा थप फैलन सक्ने जोखिम रहेको विज्ञहरूको भनाइ उद्धृत गर्दै मन्त्री पौडेलले भयावह हुन नदिन स्थानीय तहबाट साथ र सहकार्यको अपेक्षा गरेको बताए।
उनले सरसफाइको कमीका कारण सङ्क्रमण फैलने भएकाले मन्त्रालयले देशैभर सातामा एक दिन एकै समयमा सफाइ अभियान सञ्चालन गर्न लागेको जानकारी दिए।
उक्त सफाइ अभियानमा स्थानीय तह र प्रदेशको साथ मिलेमा देशैभर सफाइ अभियान थालिने बताए। हाल मन्त्रालयले डेङ्गु जोखिमलाई ध्यानमा राखेर सातै प्रदेशका अस्पतालमा बेग्लै डेस्क स्थापना गरी उपचार थालेको छ।
अब उपचारसँगै थप सङ्क्रमण हुन नदिन वडा तहसम्म सचेतना विस्तार गर्न उनले आग्रह गरे। मन्त्रालयले स्थानीय तहलाई हरसम्भव साथ दिने प्रतिबद्धता उनले जनाए।