News Griha :: न्यूजगृह
हत्या आरोपित एमाले सांसद कोइरीलाई कारबाही गरिने, बिदा स्वीकृत भएन

काठमाडौं— हत्या अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको बिरामी बिदा अस्वीकृत भएको छ । शुक्रबार साँझ बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले एमाले सांसद कोइरीको बिरामी बिदा प्रस्ताव अस्वीकृत गर्दै उनको बारेमा अर्को बैठकमा कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने भएको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले भने, 'माननीय श्री लक्ष्मी महतो कोइरीका बारेमा सभामा विभिन्न विषय उठेकाले यसबारे प्रतिनिधि सभाको आगामी अधिवेशनमा कानुन बमोजिम हुने जानकारी गराउँदछु ।'

१० दिनसम्म नियमित रुपमा संसद् बैठकमा नआएमा स्वतः पदमुक्त हुने भए पछि सांसद कोइरीले केही दिन आफू बिरामी भएका कारण उपस्थित हुन नसकेको भन्ने पत्र संसद् सचिवालयमा पठाएका थिए । सोहीअनुसार सभामुख देवराज घिमिरेले शुक्रबारको बैठकमा उनीसहित पाँच सांसद बिरामी भएको सन्देश सुनाएका थिए ।

तर, कोइरी बिरामी नभएर फरार भएको र आफूसँग भारतमा लुकेको प्रमाण रहेको दाबी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रवि लामिछाने तथा सत्तारुढ दलका सांसदहरूले आपत्ति जनाउँदै उनलाई पक्राउ गर्न सभामुखमाथि दबाब बढाएका थिए । जसका कारण संसद् बैठक केही समयका लागि अवरुद्धसमेत हुन पुगेको थियो ।

कोइरीका कारण सत्तारुढ र प्रतिपक्ष बिचमा संसद् बैठकमा आरोप प्रत्यारोप भएपछि पुनः सहमतिका आधारमा उनलाई अर्को अधिवेशनमा भने कारबाही गर्न सभामुख घिमिरे मञ्जुर भएका थिए ।

मधेस आन्दोलनका क्रममा महोत्तरीमा असई थमन बिकको हत्याको आरोपमा सांसद कोइरी माथि जेल सजाय सुनाइएको छ । सो जेल सजाय सुनाएका कोइरीलाई पक्राउ गर्न चौतर्फी दबाब बढेको हो । 

यसैगरी बैठकले मनोरमा शेरचन,  बिनाकुमारी थनैत,  चन्द्रकान्त भण्डारी र वर्षमान पुनको बिदा भने स्वीकृत गरेको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  ०९:११
Weather Update