News Griha :: न्यूजगृह
यातायात कार्यालय एकान्तकुनाका कम्प्युटर अधिकृत रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र एकान्तकुना, कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत बासुदेव रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सेवाग्राहीको सवारी चालक अनुमति पत्र कार्यालयको अभिलेख सच्चाइ नवीकरण गर्ने गराउने प्रयोजनको लागि सेवाग्राहीबाट घुस लिएको पुष्टि भएकाले विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

एक सेवाग्राहीको सवारी चालक अनुमतिपत्रमा वर्ग ‘बी’ थप गर्न दिएको प्रयोगात्मक परीक्षाको चेकलिस्टमा उनी पास भएको जनिएको तर इलेक्ट्रिक ड्राइभिङ लाइसेन्स रजिष्ट्रेसन सिस्टमको परीक्षा स्टाटसमा फेल भएकोले उक्त विवरण सच्चाउन कम्प्युटर अधिकृत रेग्मीले २० हजार रुपैयाँ घुस लिएको पाइएको अख्तियारले जनाएको छ।

आयोगले २० हजार रुपैयाँ बिगो कायम गरी बिगो बमोजिम जरिवाना र सजाय मागदाबी लिई मुद्दा दायर गरेको छ।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १४:२०
Weather Update