News Griha :: न्यूजगृह
माओवादी स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले आज जवाफ दिने
फाइल तस्बिर।

काठमाडौं— नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदै छन्। त्यसका लागि आज बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको छ।

गत शुक्रबारदेखि सुरु भएको स्थायी समिति बैठकमा पार्टीभित्रका समस्या र समाधानका विषयमा छलफल हुँदै आएको छ। कतिपय नेताहरुले अध्यक्ष प्रचण्डको कार्यशैलीमाथि प्रश्न उठाउँदै नेतृत्वमा उनको विकल्पसमेत खोजेका छन्।

उपमहासचिव जनार्दन शर्माले लिखित धारणा राख्दै अध्यक्ष प्रचण्डको विकल्पमा तेस्रो पुस्ताका युवालाई नेतृत्व दिनुपर्ने प्रस्ताव राखेका थिए।

त्यसका लागि हालको केन्द्रीय समिति भंग गरी अध्यक्ष प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयनको बाटो अपनाउनुपर्ने शर्माको प्रस्ताव छ।

बैठकमा धारणा राख्ने अन्य नेताहरुले पनि नेतृत्व र नेताहरुको कार्यशैलीमा प्रश्न उठाएका छन्। साथै पार्टीको नाम र चुनाव चिह्न फेर्नुपर्ने लगायतका आवाज पनि बैठकमा उठेका छन्।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १०:०७
Weather Update