News Griha :: न्यूजगृह
दलहरूले पूर्वराजालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्थ्यो : राजेन्द्र लिङ्देन
फाइल तस्बिर।

काठमाडौं— राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन योगदान गरेका पूर्वराजालाई दलहरूले नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने बताएका छन्।

राजा भनेर सम्बोधन गरेका उनले कसैको नाम त लिएनन्, तर पूर्वराजा ज्ञानेन्द्र शाहतर्फ सङ्केत गरेका हुन्।

बुधबार टीआरसी विधेयकमाथि संसद्मा भएको छलफलमा भाग लिएका लिङ्देनले हिंसात्मक द्वन्द्व हारजितमा नभई सम्झौताबाट टुङ्गिएको बताए। सम्झौताको एउटा पक्ष तत्कालीन राजा पनि भएको भन्दै उनले भने, ‘तपाईँहरूले आज राजालाई सम्झिनुपर्थ्यो । जसले राजगद्दीलाई छोड्न तयार भएर शान्ति प्रक्रियालाई साथ दियो, यति पूर्वाग्रही हुनुहुन्न।’

आ–आफ्नो राजनीतिक दर्शन तथा मान्यताहरू हुने भन्दै उनले भने, ‘शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने राजाको योगदान छैन रु दलहरूले त राजालाई शान्ति प्रक्रियामा योगदान पुर्‍याए वापत नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्थ्यो ।’

आफूले बहुमत पाउनेबित्तिकै सबै बिर्सिएर अगाडि बढ्दा दुर्घटना हुने लिङ्देनले बताए।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १५:४१
Weather Update