काठमाडौं— बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि पहिलो पटक वक्तव्य जारी गरेकी छन्। मंगलबार विज्ञप्ति जारी गर्दै हसिनाले आफ्ना पिताको अपमान गरिएको बताएकी हुन्।
देशलाई स्वतन्त्रता दिलाएका बंगबन्धु शेख मुजिबुर रहमानको अपमान गरिएको भन्दै देशवासीसँग न्याय मागेकी छन्।
उनले भनेकी छन्, ‘बंगबन्धु शेख मुजिबुर रहमान जसको नेतृत्वमा देशले स्वतन्त्रता हासिल गरेको थियो, उनको अपमान गरिएको छ। उनीहरू (प्रदर्शनकारीहरूले) मेरो बुबाको अपमान गरेका छन्, म देशवासीसँग न्याय माग्छु।’
अगस्ट ५ मा देश छोडेर भारतमा रहेकी हसिनाको विज्ञप्ति उनका छोरा सजीब वाजेदले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। हसिनाले बंगलादेशी नागरिकहरूलाई अगस्ट १५ मा आफ्ना पिता शेख मुजिबुर रहमानको पुण्यतिथि मनाउन आग्रह गरेकी छन्।
मुजिबुर रहमानको १५ अगस्ट १९७५ मा गोली हानी हत्या गरिएको थियो। अर्कोतर्फ बंगलादेशको अन्तरिम सरकारले १५ अगस्टको बिदा रद्द गरेको छ।
हसिनाले विज्ञप्तिमा भनेकी छन्, ‘जुलाईदेखि अहिलेसम्म आन्दोलनको नाममा भएको तोडफोड, आगजनी र हिंसामा धेरैले ज्यान गुमाएका छन्। म उहाँहरूको आत्माको चिरशान्तिको कामना गर्दछु र उहाँहरूप्रति समवेदना प्रकट गर्दछु।’
आन्दोलनमा धेरै विद्यार्थी, शिक्षक, प्रहरी, पत्रकार, अवामी लिगका नेता र सामाजिक कार्यकर्ता मारिएका थिए। हसिनाले भनिन्, ‘म यी हत्या र बर्बरतामा संलग्नहरूलाई कडा सजाय दिन माग गर्दछु।’
यसअघि हसिनाले अमेरिकालाई सेन्ट मार्टिन टापु नदिँदा आफ्नो सरकार ढालिएको बताएकी थिइन्।
यसअघि जुन २०२१ मा बंगाली अखबारहरूमा अमेरिकाले बंगलादेशसँग सेन्ट मार्टिन टापु मागेको दाबी गरेको थियो । उनी यहाँ सैन्य आधार बनाउन चाहन्छन्।