News Griha :: न्यूजगृह
बेथिति

जताततै अलपत्र छ विकास निर्माणको काम, सरकारको घैँटोमा कैले लाग्छ घाम ? जनतालाई सास्ती अनि सरकार र नेतालाई मस्ती ! कोही भन्छन् भारतको दोस्ती, कोही भन्छन् चाइनासँग नै मस्ती, यस्तै छन् देशका राजनीतिक हस्ती । अनि भै'गो नि नागरिकलाई सास्ती ।

ठेकेदार–कर्मचारी पार्टीका झोले, न्याय र कानुन सबै पोले । ठूलाठालु तिनै झोले, यता जनतालाई भने दुई छाक  खान छैन कोदाको खोले । कृषिमा मल छैन बिउ छैन । साँढे जुधाइ ठिक छ, कुर्सीमा कताबाट कुरो मिल्छ । 

एउटा सरकार आउँछ, एउटा योजना सुरु गर्छ । महिना बित्न नपाउँदै ढल्छ । भद्रगोल सबै योजना अनि भएन त लथालिङ्ग । भारत चीन हाइहाइ नेपालको विकास बाइबाइ, पस्नु परेन त पेट पाल्न विदेशतिर दाजुभाइ ?

बढ्दै छ हत्या, हिंसा र बलात्कार, अझै चमत्कार ! देश कङ्गाल हुन लाग्दा सबै गर्छन् आरोप–प्रत्यारोप कहिले मिल्ला सही र सकारात्मक शासक देशलाई ?

विकास निर्माण छन् सबै अलपत्र, कोसँग छ यसको शिलापत्र ? किन हुँदै छ यस्तो देशमै सबैतिर बेथिति ? कसले राख्ने नजर सरकार आफै मूकदर्शक भए पछि । हुन त के होला हाम्रो देशको राजधानीमै सबै काम छन् अलपत्र, अनि अरू त के कुरा गर्नु र मित्र ?

हिमाल, पहाड, तराई–मधेस सबै गाउँ ठाउँमै हुन्छ सिंहदरबार भनिन्थ्यो, सुनिन्थ्यो । तर, अहिले सिंहदरबार त आयो तर, गर्जन सिंहको नभएर स्यालको स्टाइलमा ।

गाउँदेखि शहरसम्म, शहरदेखि राजधानीसम्म जताततै विकासको लहर छायो, विचरा निमुखा जनता को रोजीरोटी नै विकासले खायो । युवा जत्ति विदेश धपायो वृद्ध वृद्धालाई थाङ्नामा सुताएर आफ्नै करको पैसाले भत्ता खुवायो । सबैतिर वाह ! वाह !!  बुझ्दै जाँदा देशको दर्दनाक अवस्था देखेर सबै शिक्षित वर्ग ट्वाँ !!! अनि के हुन्छ यहाँ ?

सपना बोकेर खाडीमा पुगेको छोरो बाकसमा फिर्दा बाउ आमा गर्छन् यहाँ चित्कार, कसै कसैले त भन्छन् छैन यो व्यवस्था हितकर । सारा लुटियो निमुखाको घिच्रो निमोठियो, न त कतै समेटियो न त तृष्णा नै मेटियो, सुन्दर, शान्त नेपाल कहाँ भेटियो ?

आशा भरोसा बिलाए, नेताले मुखमात्र चलाए । देश चलाउन सकेनन्, ढुकुटी रित्याए । विकास निर्माणको काम चैँ लथालिङ्ग परेर खै के खुत्त्याए ? विदेशीलाई नागरिकता दिए नभएको जनसङ्ख्या बढाए, कृषियोग्य जमिनमा बजार बसाए, उपभोग्य सामान विदेशबाट आयत गरे निर्यात माटो मै मिलाए । व्यापार घाटा रे, कहिले गरे उत्पादन, अनि खोज्छन् नाफा । 

विश्वविद्यालय धराशायी राजनीतिक हस्तक्षेपले खाइ, होनहार विद्यार्थी सबै बाहिर गए आफ्नो शिक्षा लिनलाई । धनराशि ठुलै गयो बाहिर यिनकै साथमा, के हुन्छ र हामी यहाँ रहनेको हातमा ? अब सबै मिलाऊ गरौँ देशको माया  तर, के गर्नु र यस्तै रहेछ घाम र छाया । 

अहिलेको परिस्थिति, कुनै पनि पुराना राजनीतिक दलले बोलेर विश्वास दिलाउन अति नै गाह्रो स्थिति । किन कि विगतकै दशकदेखि आम जनमानसमा बोलेकै भरमा विश्वास जित्दै आएका थिए अब भने जनता चतुर भै'सके । मुखमा रामराम बगलीमा छुरा भनेको जस्तै अब जनताको  पालो आइसकेको छ । जति माछोमाछो भ्यागुतो पुराना पार्टी र नेताले निमुखा जनतालाई बनाए, अब एकैपटक जनताले पुराना पार्टीलाई माछोमाछो भ्यागुतो बनाउने  निश्चित छ ।

त्यसैले बोली भाषणभन्दा पनि भुँइमान्छेको सपना झल्किने ठोस काम गरेर मात्र जनताको विश्वास जित्ने निश्चित भइसकेको छ । सबै पुराना पार्टी पङ्क्तिले अब आउँदा दिनमा नातावादको राजनीतिलाई त्यागेर सम्पूर्ण समाज र जनताको उत्थान हुने काममा लाग्नु नै भोलिको लागि उचित मार्ग दर्शन हुनेछ ।

जन्मिएको मात्र ६ महिनामै राष्ट्रिय स्वतन्त्र पार्टीको गगनचुम्बी सफलता र लोकप्रियताले पनि अहिलेको पुस्ताले के खोजिरहेको छ भन्ने कुरा नेतृत्व पङ्क्तिले बुझ्नु जरुरी छ । जताततै बोली र आश्वासन दिने नीतिनियम योजना अनुसारको कुनै काम नगर्ने सबै नातागोता र आफन्तवादको चङ्गुलमा फैलिएको राजनीतिक अराजकताले नै ठूला पार्टीको यो हालत हुँदै गइरहेको छ । त्यसैले, संगठनलाई मजबुत गर्दै लोकप्रिय र पारदर्शिता ल्याउने खालका काम योजनाबद्ध तरिकाले अगाडि ल्याउनु पर्‍यो ।

पार्टीमा युवाको योगदानको कदर गर्दै अब पछिल्लो पिँढीले मार्गनिर्देशन गर्दै युवालाई अग्रसर बनाउनु पर्‍यो । पार्टीमा अब सधैँ आफूबिना केही हुँदैन भन्ने मानिकताबाट अलि बाहिर आएर लेखपढ सम्पन्न सक्षम युवाहरूलाई अगाडि बढ्ने बाटो शुद्ध रूपमा सधैँका लागि खुला गर्नु नै पुराना राजनीतिक दलहरूको अग्रगामी कदम हुनेछ ।

अब नसिके कहिले सिक्ने । अब नचेते कैले चेत्ने ? स्वतन्त्र सानो मुला सम्झिदा आज यो हाल हुँदै छ भने अब पुराना दलहरू सबै एकै ठाउँमा मिल्दा पनि हिजो अस्ति जन्मेको पार्टीलाई हराउन मुस्किल हुने देखिन्छ । त्यसैले अब आफू नसुध्रिए जनताले सुधार्ने पक्का नै छ । हैन भने उदाहरण तनहुँ र चितवन नै काफी छन् ।

हामी पुराना नेता/पार्टी जनता हाम्रो मुठ्ठीमा छन् भन्ने भ्रम नहोस् सबैमा चेतना भया, पुराना र बुढो गोरुले गाई रुघेको जस्तो सत्ता र पदको पछाडि लिप्त नेतालाई अब कदापि जनताले छुट दिने छैनन् । बकवास र बकम्फुसे कुरा बन्द गरी सही भिजन र सामाजिक रूपमा विकसित राष्ट्रको परिकल्पना गर्दै देशलाई विकासको मूल धारमा ल्याउने अनि देशका ढुकढुकी युवाको सम्मान देशमै हुने खालको वातावरण निर्माण गर्न सबै मिलेर अगाडि बढौँ ।

आजको जनताको चाहना सही नेतृत्व, पारदर्शिता र भ्रष्टाचारको अन्त्यसँगै देशको सर्वाङ्गीण विकास नै हो त्यसैले यही पक्षमा सबै मिलेर अगाडि बढ्नु नै सबैको भलो हो भन्ने कुरा सबैमा हुनु जरुरी देखिन्छ ।

जय देश, जय जनता !

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  ०६:४७
Weather Update