काठमाडौं— मधेस प्रदेश सरकारमा प्रतिनिधित्व गरिरहेका ८ जना राज्यमन्त्री बर्खास्तीमा परेका छन्।
राज्यमन्त्री थप्दै मन्त्रिपरिषद् २० सदस्यीय बनाएपछि मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारको आलोचना भइरहेको थियो। मुख्यमन्त्री सिंहले ८ जना राज्यमन्त्री हटाउने निर्णयमा पुगेको जानकारी दिए।
गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले राज्यमन्त्री हटाइएको बताए।
पछिल्लोपटक गत मङ्गलबार पाँचजना राज्यमन्त्री थप्दै २० सदस्यीय मन्त्रिपरिषद् बनाइएको थियो। पछिल्लोपटक थपिएका पाँचजना राज्यमन्त्री ८ दिन मात्र मन्त्री रहे।
मधेस सरकारमा रेखा ठाकुर, निलमकुमारी रजक, रामबाबु यादव, शम्भु साह र मोहम्मद जैद आलम, केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खङ्ग राज्यमन्त्री थिए।
मधेसमा दलहरूबीच भागबन्डा मिलाउन २० सदस्यीय जम्बो मन्त्रिपरिषद् बनाइएको थियो। जनमत पार्टीबाट मुख्यमन्त्री भएका सतिशकुमार सिंहले गत मङ्गलबार ५ राज्यमन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका थिए।
कांग्रेसबाट २, एमाले, जनमत र लोसपाका १/१ राज्यमन्त्री थपिएका थिए। मधेसमा यसअघि मुख्यमन्त्रीसहित १२ मन्त्री र ३ राज्यमन्त्री थिए।
जनमत, कांग्रेस, एमाले, लोसपा सम्मिलित मधेस सरकारमा मुख्यमन्त्रीको कार्यालयसहित १२ मन्त्रालय छन् । जनमतका मुख्यमन्त्रीसहित ३, कांग्रेस ४, एमाले ४, लोसपाको भागमा १ मन्त्रालय छ।
शुक्रबार मात्रै जनमत पार्टी केन्द्रले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको थियो।
अनावश्यक राज्यमन्त्री थपिएको र मन्त्रीहरूको समय उद्घाटन मै बितिरहेको भन्दै स्पष्टीकरण सोधिएको थियो।