News Griha :: न्यूजगृह
टीआरसी विधेयक आज प्रतिनिधिसभामा पेस हुने

काठमाडौं— प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक दिउँसो एक बजे बस्नेछ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ।

यस्तै सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउनेछन् भने पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०’ पेस गर्ने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची छ।

यस्तैगरि कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ सदनमा पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

गत साउन २४ गते बसेको समिति बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मत रुपमा पारित गरेको थियो।

२०७९ साल फागुन २५ मा संसद्मा दर्ताका विवादित विषयहरू गत असार १३ असारमा बनाएको शीर्ष तीनको कार्यदलले टुङ्ग्याएको थियो।  विधेयकलाई अब संसदबाट पारित गर्ने तयारी सरकारको छ। 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ०७:३५
Weather Update