काठमाडौं— कोठामा बस्न महेश त्रिपाठीसँग पैसा थिएन । घरबाट पैसा माग्ने स्थिति पनि थिएन । उनको रहर थियो फिल्मको हिरो बन्ने । महेशले काठमाडौंमा चिनेजानेका मान्छे कोही थिएनन्, फिल्म क्षेत्रकासँग चिनजान हुने कुरै भएन । उनको रहर एकातिर, बाध्यता अर्कोतिर भइदियाे ।
पशुपतिनाथ मन्दिर परिसरका पाटीपौवा महेशका ओछ्यान थिए । उनी बाबाजीहरूसँगै सुत्थे । दाताले बाँड्ने निःशुल्क भोजन ग्रहण गर्थे । महेश कयौं रात भोकै पनि हुन्थे । उनका लागि समय अनुकूल थिएन । संघर्षका सुरुआती दिनमा महेशले पैसा अभावकै कारण करिब ८ महिना पशुपतिमै आफ्ना रातहरू गुजारे ।
हिरो बन्ने रहर हुँदा जस्तो दुःख पनि भोग्न तयार थिए महेश । त्यतिबेला महेशसँग सामान्य मोबाइल थियो । कास्कीकोटबाट बुबाले फोन गर्थे प्रायः साँझपख । हालखबर सोध्थे । महेशको जवाफ हुन्थ्यो,‘मलाई ठिक छ । म डेरामै छु । खाना खाएर सुत्न लागेको छु ।’ महेशले आफ्ना बुबासँग झुट बोले । कथाव्यथा अर्के थियो ।
कास्कीकोटस्थित घर छाड्दा महेश २१ वर्षका थिए । अमेरिकन संस्थाबाट छात्रवृत्ति सहयोग पाएर इन्जिनियरिङ पढेका त्रिपाठीलाई जसरी पनि चर्चित हिरो बन्नु थियो ।
काठमाडौं उक्लेपछि उनको ध्यान फिल्ममा बाहेक अन्त गएन । बुबाआमाले छोराले इन्जिनियरिङकै पढाइलाई निरन्तरता देओस् भन्ने चाहना थियो । तर त्रिपाठी आफ्नो चाहना पूरा गर्न चाहन्थे ।
काठमाडौंका सुरुआती दिनहरू
हिरो बन्ने रहर मात्रै भएर हुँदैन । अवसर पनि आउनुपर्यो । बेमतलबी शहरमा महेशलाई फिल्ममा कसले ब्रेक दिने ?
महेशले सोचे अब फिल्म क्षेत्रका मानिससँग चिनजान बढाउनुपर्छ । गाउँतिरकै मामा नाता पर्ने सविन बाँस्तोलासँग महेशको भेट भयो । तत्कालीन समयमा नेपाल टेलिभिजनमा बाँस्तोलाले टेलिचलचित्र निर्देशन गर्थे । बाँस्तोला भेट्दा महेशलाई द्यौता भेटेझैँ भयो । टेलिफिल्मको सुटिङ हेर्न जान थाले महेश ।
कलाकार, प्राविधिकसँग चिनजान बढाए । ‘सुटिङमा मेरो केही भूमिका हुँदैनथ्यो तै पनि सुटिङ हेर्दा खुब रमाइलो लाग्थ्यो । कुनै दिन क्यामेरा अगाडि हिरो भएर सुटिङ गरिरहेको कल्पना गर्थें । रोमाञ्चित हुन्थें,’ महेश विगत सम्झिन्छन् ।
सुटिङ हेर्न जाँदाजाँदै महेशले टेलिफिल्मको ‘क्रु मेम्बर’ भएर काम गरे । ‘स्पट ब्वाईको रूपमा मैले सुटिङ सेटमा काम पाएँ । त्यो मेरो लागि निकै ठूलो उपलब्धि थियो,’ महेश सम्झन्छन्, ‘यसरी नै मेरा दिनहरू बित्दै गए । मैले फिल्मप्रति देखाउने उत्सुकता र सक्रियताले गर्दा नै होला पछि निर्देशकले मलाई असिस्टेन्टको रूपमा राख्न थाले । यतिञ्जेलसम्म आइपुग्दा सिरियलमा मैले आक्कलझुक्कल अभिनय गर्ने मौका पाएको थिएँ ।’ जीवनचक्र, आफन्त, मृगतृष्णालगायतका सिरियलमा उनले काम गरे ।
सुटिङ सेटको सुरुआती यात्रा २ वर्षसम्म चल्यो । यतिञ्जेलसम्म महेशले सुटिङको माहोल बुझिसकेका थिए । त्यसपछि भने उनलाई एकोहोरो एकै किसिमको काम गरिरहँदा ‘मोनोटोनस फिल’ हुन थाल्यो । ‘अब यसरी हुँदैन भन्ने लाग्यो । यसरी त म फिल्ममा कसरी हिरो हुन्छु ? कसरी मेरो चर्चा हुन्छ र ? भन्ने कुराले मलाई सताउन थाल्यो,’ महेशले भने,‘त्यसपछि म कास्कीकोट फर्कें ।’
घरमा केही दिन बसेपछि महेशलाई फेरि निको लाग्न छाड्यो । फिल्मको हिरो बन्ने भुतले उनलाई छाडेकै थिएन । २ वर्ष सुटिङ सेटको अनुभव बटुलेका महेशलाई रहरलाई ‘प्रोफेशन’ बनाउन सकेमात्र आफूले तरक्की गर्न सक्छु जस्तो लाग्यो । र, त्यसका लागि उनले फिल्म कलेज पढ्न आवश्यक रहेको ठाने ।
इन्जिनियरिङ पढेको छोराले फिल्म कलेज पढ्छु भन्दा परिवारले अनर्थ त सोच्ने नै भयो । महेशलाई आर्थिक समस्या हुन थाल्यो । घरको आर्थिक स्थितिले महेशको पढाइ खर्च धान्न गाह्रो थियो ।
त्यतिबेलै उनले आफ्नो पुरानो अमेरिकी दातालाई इमेल गरे । आफू फिल्म कलेज पढ्न इच्छुक रहेको र त्यसका लागि पैसा आवश्यक भएको बेहोरा बताए । दाताहरूले सकारात्मक प्रतिकृया दिए । र,उनी २०११ मा फिल्म कलेज भर्ना भए ।
जब फिल्मको ‘एकेडेमिक’ अध्ययन सुरु भयो, महेशको मथिंगल हल्लियो । कला, समाज र मानिस बुझ्ने फिल्मको औपचारिक अध्ययन गरिरहँदा महेशलाई लाग्यो, ‘यो मबाट सायद हुँदैन,’ महेश थप्छन्, ‘म इन्जिनियरिङ पढेको मान्छे, फिल्म कलेज पढ्न के को समस्या । सकिहाल्छु नी भन्ने थियो । तर पढ्दै जाँदा फिल्मको प्रभावकारिता र डाइमेन्सनबारेमा जानकारी हुँदै । त्यसपछि आत्तिन थालेँ । तर मनले भन्यो,‘तैंले आफैंले रोजेको फिल्डलाई छाडेर जान्छस् चाहिँ कहाँ ? जे गर्ने हो यसैमा गर् । ’
मानसिक रूपमा तयार भएपछि त्रिपाठीले फिल्म क्षेत्रमै जोखिम लिन चाहे । फिल्म कलेजको अध्ययन पूरा भयो । यतिञ्जेल फिल्म क्षेत्रमा उनको पहिचान भइसकेको थियो । तर पनि महेशलाई कुनै फिल्मको अफर आएन । उनले कलेज प्रोजेक्टको रूपमा निर्माण भइरहेका छोटा फिल्ममा अभिनय गरेर अभिनयको भोक मेटाइरहेका थिए ।
अध्ययन सकेर फिल्म नपाए पनि महेशले सोही कलेजमा अध्यापन गर्ने मौका भने पाए । करिब २ वर्षसम्म उनले फिल्म कलेजमा पढाए । फिल्म कलेजको अध्यापन पेशाले उनलाई आर्थिक रूपमा सजिलो भयो रहर भने मेटिएन ।
संघर्ष गर्दागर्दै पनि फल प्राप्त नहुँदा उनी एन्जाइटी, डिप्रेशनको शिकार भए । उनी भन्छन्,‘म भौतिक रूपमा जस्तो दुःख पनि भोग्न तयार थिएँ । तर मानसिक रूपमा आफूले खोजेको प्राप्त नहुँदा ठूलो पीडा हुने रहेछ । म राति सुत्न नसक्ने भएँ । सुत्नको लागि रक्सी चाहिने अवस्था आयो । एक हिसाबले भन्दा म अल्कोहोलिक भएँ ।’
पहिलो फिल्मी ब्रेक
आइसफल प्रोडक्शनका सञ्चालक रामकृष्ण पोखरेलले एक दिन महेशलाई एउटा स्क्रिप्ट पठाए । फिल्म कलेज पढाउने शिक्षक भएका कारण फिल्ममेकरहरूले स्क्रिप्टबारे रेस्पोन्स लिन महेशलाई स्क्रिप्टहरू पठाइराख्थे । उनले सोचे, ‘रामकृष्ण दाइले पनि स्क्रिप्टबारे केही छलफल गर्नका लागि मात्रै पठाए होलान् ।’
पोखरेलले पठाएको स्क्रिप्ट पढेपछि महेशले ठाने आफ्नै लागि लेखिएको हो । उक्त स्क्रिप्ट हाल प्रदर्शनको तयारीमा रहेको हल्काराकै थियो । स्क्रिप्ट पढेपछि महेशले पोखरेललाई फोन गरे,‘दाइ यो फिल्मको लागि मैले पनि अडिसन दिन्छु नि !’
अडिसनका लागि उनलाई बोलाइयो । उनी फिल्मको लागि छनोट भए । त्यसदिन उनको खुसीको सीमा रहेन । ‘मेरो जीवनको टर्निङ प्वाइन्ट थियो त्यो अवसर । मेरो जीवनलाई गति दिने काम हल्काराले नै गरेको हो,’ महेश भन्छन् ।
हल्कारामा अनुबन्धित भइसकेपछि महेशको दैनिकी फेरियो । बानीबेहाेरामा सुधार आयो । त्यसैले यो फिल्म महेशका लागि विशेष छ । हल्कारा उनको पहिलो फिचर फिल्म हो । यस बीचमा उनले चपली हाइट–३ र प्रसाद–२ मा पनि काम गरिसकेका छन् । त्यस बाहेक उनले ५ वटा बढी विदेशी फिल्मका प्रोजेक्टहरूमा अभिनेता र थुप्रै म्युजिक भिडिओमा अभिनय गरेका छन् ।
नेपाल प्रदर्शनको लागि तयार भइसकेको फिल्म हल्कारा ले विभिन्न विदेशी फेस्टिभलमा सहभागिता जनायो । महेशले यही फिल्मबाट उत्कृष्ट अभिनेताको गोल्ड रेमि अवार्ड प्राप्त गरे । ‘अवार्ड (१४ वैशाख) हिजो मात्रै मेरो हातमा आइपुगेको छ । नेपाल प्रदर्शनको छेकोमा मेरो हात परेको अवार्डले मलाई झन् हौसला प्रदान गरेको छ,’ शुक्रबारको भेटमा महेशले आफ्नो खुसी साटे । हलिउडमा वितरण हुने यो अवार्ड पाउने महेश दक्षिण एशियाकै पहिलो अभिनेता हुन् ।
हल्कारा २९ वैशाखदेखि प्रदर्शन हुँदैछ । महेश अहिले यही फिल्मको प्रचारप्रसारमा व्यस्त छन् । शुक्रबारदेखि उनी अभिनित फिल्म प्रसाद–२ चलिरहेको छ । उनको पाइपलाइनमा ४ वटा फिल्म छन् । जुन चाँडै फ्लोरमा जाने क्रममा छन् ।
हिरो बन्ने १५ वर्षे संघर्षपछि फर्केर हेर्दा महेशको रहर पूरा हुने यात्रातर्फ छ । ‘सजिलै प्राप्त गरेको कुराको खासै अर्थ पनि हुँदैन । र, मैले जीवनमा केही चिज पनि सजिलै प्राप्त गरेको इतिहास छैन,’ महेश भन्छन् ।