News Griha :: न्यूजगृह
१८ देशका लागि सिफारिस राजदूतको सुनुवाइ भोलिदेखि

काठमाडौं— १८ देशमा नियुक्तिका लागि सिफारिस गरेका राजदूतको सुनुवाइ प्रक्रिया भोलि देखि सुरु हुने भएको छ।

संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले  जानकारी दिए। सरकारले विभिन्न १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो। 

सिफारिस भएका  राजदूतको सुनुवाइ प्रक्रिया मङ्गलवारदेखि सुरु हुने सुनुवाइ समितिले जनाएको छ। बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन रहेको शङ्कर हलमा दिउँसो सवा १२ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ।

बैठकले प्रस्तावित राजदूतमाथि उजुरी आह्वान गर्नेछ। प्राप्त उजुरीमाथि छलफल भएपछि राजदूतहरूको सुनुवाइको मिति तोकिनेछ। सरकारले साउन १५ गते १८ देशका लागि राजदूत सिफारिस गरेको थियो। नेकपा एमालेकी स्थायी समिति सदस्य एवं पूर्व उपसभामुख शिवमाया तुम्बाहाम्फे दक्षिण कोरियाका लागि राजदूत सिफारिस भएकी थिइन्।

त्यस्तै भारतका लागि राजदूत सिफारिस भएका शङ्कर शर्माको पनि पुनः सुनुवाइ हुने भएको छ। प्रस्तावित १८ राजदूतको सूची आइतबार समितिमा सुनुवाइका लागि पुगेको थियो। त्यस्तै पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी, पूर्वसचिव चन्द्र घिमिरे राजदूतमा सिफारिस भएका छन्।

उनीहरूमथि उजुरी मागेपछि समितिमा उजुरी दर्ता हुनेछ। उक्त उजुरीको आधारमा समितिले सुनुवाइ गर्नेछ। गम्भीर उजुरी परेमा उनीहरूलाई अस्वीकार पनि गर्न सक्छ। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएसँगै उनीहरू नियुक्ति हुनेछन्। 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १४:४५
Weather Update