
काठमाडौ— परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले सोमबार शिष्टाचार भेट गरेका छन्।
भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध पक्षहरुका साथै आर्थिक एवं विकास सहायता तथा आयोजनाहरु लगायतका विविध विषयमा छलफल भएको थियो।
भेटका क्रममा मन्त्री राणाले नेपाल–भारत ‘एअर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटको उपलब्धताका लागि सचिव मिस्रीसँग कुरा गरेकी थिइन्।
मन्त्री राणाले नेपाल र भारतका सीमा क्षेत्र हुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि पनि कुराकानी गरेकी थिइन्।
भेटका क्रममा पञ्चेश्वर आयोजनाका बाँकी काम अघि बढाउने बारेमा मन्त्री राणाले उठाएको विषयमा यसका धेरैजसो समस्या समाधान भइसकेका र बाँकी प्राविधिक समूहमार्फत अघि बढेर सम्बोधन गरिने विषयमा छलफल भएको मन्त्रीको सचिवालयद्वारा जारी प्रेसनोटमा उल्लेख छ।
मन्त्री राणाले टनकपुर बाँधको नहरमा पानी छोड्न, बाडगंगा, खाँडो र राप्ती नदीको बाढी नियन्त्रण र जोखिम कम गर्ने सम्बन्धमा आवश्यक सहायता उपलब्ध गराउने विषयमा सचिव मिस्रीमार्फत् भारत सरकारसँग कुरा उठाएकी थिइन्।
मन्त्री राणाले व्यापार तथा पारवहनसम्बन्धी वार्तालाई निरन्तरता दिनुपर्ने विषयमा पनि कुराकानी भएको थियो। मन्त्री राणाले जाजरकोट भूकम्पमा परेका पीडितहरुको उद्धार र सहायताका लागि भारत सरकारको सहयोगप्रति धन्यवाद ज्ञापन गरिन्।