
काठमाडौं— काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको किम्ची रेष्टुरेन्ट एण्ड फास्ट फुडलाई २ लाख जरिवाना गर्ने निर्णय गरेको छ।
गएको शुक्रबार रेष्टुरेन्टको हलमा महानगरपालिकाले ‘विवाद व्यवस्थापनमा वडा कार्यालयको भूमिका’ विषयमा महिला सञ्जालका संयोजक, वडा सदस्य, वडा सचिव र न्यायिक सहजकर्तालाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको थियो।
यसक्रममा सिल गरेको प्रशोधित पानीको बोतल खोलेर गिलासमा खन्याएर पिउन थालेपछी वडा नं ११ का वडा सदस्य यशोमती परियारले पानीमा कीरा सल्बलाएको देखेकी थिइन्।
कार्यक्रममा उपस्थित महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललाई पानीको बोतल देखाइयो। अनुगमन समितिका संयोजकसमेत रहेकी उपप्रमुख डङ्गोलले दुषित पानी बिक्री गर्नेलाई तत्काल कारवाही गर्न र कार्यक्रम तत्काल स्थगित गर्न निर्देशन दिएर उनी निस्किइन्। त्यसपछि कार्यक्रम रोकिएको थियो।
‘पानीजन्य सङ्क्रमणका जोखिम रहेको अवस्थामा सिल बोतलभित्र अखाद्य बस्तु देखिनु चरम लापर्बाही हो। महानगरपालिकाले खानेकुरा तथा पिउने पानीको स्वच्छतामा लापर्बाही नगर्न व्यवसायीहरूलाई अनुरोध गर्दै आएको छ।’
त्यसक्रममा सङ्क्षिप्त प्रतिक्रिया दिँदै उपप्रमुख डङ्गोलले, अनुरोधलाई अटेर गर्नेहरूलाई कानुनी कारवाही गर्नुको विकल्प नरहेको बताइन्।
तत्काल अनुगमन टोली पुगेर रेष्टुरेन्टबाट नमूना सङ्कलन गरेको थियो। यति प्रक्रिया सकिँदा कार्यालय समय समेत सकिएकाले त्यस दिन कारवाहीको निर्णय हुन सकेन। यसकारण आज दुषित पानी बिक्री गर्नेलाई २ लाख जरिवाना गर्ने निर्णय भएको हो।
रेष्टुरेन्टबाट बिक्री भइरहेको पानी काठमाडौंको टोखा नगरपालिका वडा नं ८ बाट उत्पादन भएको सिटी मिनरल वाटर एण्ड वेवरेज प्रालिले उत्पादन गरेको ‘इको’ ब्रान्डको पानी हो।
खाद्य स्वच्छता कायम गर्न नसक्दा महानगरपालिकाले यसअघि आफ्नै कार्यालयमा सञ्चालन भएको क्यान्टिनलाई २ पटक जरिवाना तिराएको थियो।