News Griha :: न्यूजगृह
हवाई सुरक्षाबारे पर्यटनमन्त्रीले गरे रक्षामन्त्री र नेपाली सेनासँग छलफल

काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधारका विषयमा रक्षामन्त्री मानवीर राई, कामु प्रधान सेनापति अशोक सिग्देलसँग छलफल गरेका छन्।

मन्त्रालयमा आयोजित छलफलका क्रममा नेपाली सेनाका अधिकारीहरुले तालिम र व्यवस्थापन, अवलम्बन गरेका असल अभ्यासका विषयमा विचार विमर्श भएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ।

नेपाली सेनाले भौगोलिक विविधता र मौसमी कारणले हुने दुर्घटनाको अन्त्य गर्नका लागि ठाउँठाउँमा मौसमी सूचनाबारे जानकारी लिन आधुनिक प्रविधि जडान गर्नुपर्नेलगायत विषयमा पर्यटनमन्त्रीलाई सुझाव दिएको छ।

एक महिनाभित्र एउटा विमान र एउटा हेलिकप्टर दुर्घटना भएपछि पर्यटनमन्त्रीले हवाई सुरक्षाबारे रक्षामन्त्री, प्रधानसेनापतिका साथै दुई मन्त्रालयका सचिवहरूसँग सामूहिक छलफल गरी राय सुझाव लिएका हुन्।

नेपाली सेनाको हवाई सेवा उत्कृष्ट रहेकाले गैरसैनिक हवाई उडानलाई कसरी सुरक्षित पार्न सकिन्छ भन्ने विषयमा मन्त्री पाण्डेले सुझाव मागेका थिए। हालै भएका हवाई दुर्घटनाको छानबिन समिति गठन भएको भए पनि अध्ययन प्रतिवेदन भने आउन बाँकी रहेको छ।

अनुभव आदानप्रदान गर्ने क्रममा नेपाली सेनाका अधिकारीहरुले हवाई सुरक्षाका लागि सम्पूर्ण प्रणाली र नियम कानुनको कमी नभएको तर कार्यान्वयनको पक्षमा ध्यान दिनुपर्ने सुझाव दिएको थियो।

नेपाली सेनाको हवाई सुरक्षाका सन्दर्भमा आफ्नै निर्देशिका भएकाले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको गाइडलाइन फलो गर्न नपरेको प्रष्ट पारेको छ।

त्यसैगरी धेरै उडान हुने ठाउँमा हेलिप्याड बनाउनुपर्ने, नागारिक उड्डयन प्राधिकरण (क्यान), अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) र नेपाली सेनाको संयुक्त समिति बनाएर हवाई सुरक्षाका सन्दर्भमा नियमित छलफल, अध्ययन, अनुसन्धान र अनुगमनमा जोड दिनुपर्ने विषयमा सुझाव दिइएको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  २१:५३
Weather Update