
काठमाडौं— नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूमाथि पार्टी विभाजन गर्न खोजेको अनावश्यक आरोप लगाइएको जनाएका छन्।
माओवादी केन्द्रको जारी स्थायी कमिटीमा प्रस्तुत गरेको लिखित मस्यौदामार्फत सो आरोपको पुष्टि गर्न पनि शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन्।
‘खुमलटारबाट फलानो एमालेमा जाँदैछ भनेर सुरु गरिएको प्रचारबाजीलाई बालुवाटार पुगेपछि तिव्रता दिइयो, उक्त प्रचारबाजीलाई मद्दत पुग्ने गरी मूल नेतृत्वले नै पार्टी फुटतिर उन्मुख छ कसलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराए पछि नसुन्नेहरू लाई पार्टी फुटने पक्कापक्की भयो भन्ने लाग्यो, देशभर यसको असर देखा पर्न थाल्यो,’ शर्माले पेस गरेको राजनीतिक प्रस्तावमा उल्लेख गरेका छन्, ‘फुटाउने कसले हो भनेर भनिदिए पछि आज आम कार्यकर्ता र जनतामा पार्टी फुट्दै छ र भन्ने सोध्ने गरेका छन्।’
उनका अनुसार माओवादी विभाजन अन्य राजनीतिक दल, सुरक्षा निकाय र ब्युरोक्रेसी समेतमा चासोको विषय बन्न पुगेको छ।
सम्पादकीय नोट: जनार्दन शर्माले स्थायी कमिटीमा प्रस्तुत गरेको मस्यौदा न्यूजगृहसँग सुरक्षित छ।