भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै

काठमाडौं— भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौं आउँदैछन्।
परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा भारतीय विदेश सचिव मिश्री नेपाल आउन लागेका हुन्। विदेश सचिवमा नियुक्त भएपछि छिमेकी मुलुकहरूको भ्रमणमा निस्कने परम्पराअनुसार भारतीय विदेश सचिव मिश्री नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणका अवसरमा दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने र पारस्परिक हितका विषयमा दुई पक्षबीच कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा विदेश सचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणासँग भेटवार्ता गर्ने तालिका छ। उनी सोमबार स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१ ०७:४७