
काठमाडौं— नेकपा एमालेका सचिव योगेश भट्टराईले अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने प्रचण्डपथ कोशी प्रदेशमा सफल नबन्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी भट्टराईले यस्तो बताएका हुन् ।
उनले कोशी प्रदेश नामाकरणको विरोध शान्तिपूर्ण रूपमा गर्न पाउने भएपनि नेकपा माओवादी केन्द्रका संगठनहरूले नै प्रमुख प्रतिपक्षी दलका नेतामाथि आक्रमणको प्रयास गर्नु आपत्तिजनक रहेको बताए ।
उनले भने,‘नेकपा एमाले लक्षित जुन आक्रमण छ, त्यो आक्रमणले हामीलाई कतै सत्ता केन्द्रित दलहरू नै संलग्न छैनन् ? भन्ने शंका छ । अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने र त्यहीमाथि टेकेर टाउकोमा हान्ने प्रचण्डपथ फेरि लागु गर्न खोजिएको हो भने कोशी प्रदेशमा यो सम्भव छैन । हामी गोरखाली भाषामा प्रचण्डपथलाई भन्न चाहन्छौँ, कोशी प्रदेशमा यो सम्भव छैन ।’
सचिव भट्टराईले प्रधानमन्त्री दाहालले कोशी प्रदेश नाममाकरण गर्न सहमति दिएपछि पुनः फिर्ता लिनु गैरजिम्मेवारीपन भएको बताए ।













