News Griha :: न्यूजगृह
एमालेले पत्रकार सम्मेलन गरेर भन्यो– एमाले नेतामाथि आक्रमण हुँदा सरकार मुकदर्शक बन्याे

काठमाडौं— नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्थिरतामाथि खेल्ने प्रयास गरेको आरोप लगाएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी यस्तो बताएको हो ।

पार्टीको तर्फबाट सञ्चारकर्मीहरूसँग बोल्दै पार्टीका उपमहासचिव विष्णु रिमालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि दिनप्रतिदिन आक्रमण बढीरहेको भन्दै अवाञ्छित गतिविधि प्रधानमन्त्री स्वम् संरक्षक बनेको बताए ।

उनले भने,‘हाम्रो अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ कार्यक्रममा सहभागी हुन जानुभएको थियो । झापा पुग्दा उहाँहरूमाथि ढुंगामुढाको प्रयास भयो । प्रशासन मुकदर्शक भएर बस्यो । अवाञ्छित गतिविधिमाथि केही पनि गरेन । सत्ताधारी दल माओवादी केन्द्रका कार्यकर्ता रहेको थाहा पाएपछि हामीलाई गम्भीर बनायो । इलाममा पनि बाटो छेकियो, पशुपतिनगरमा पनि त्यही भयो । तर प्रशासनले नियन्त्रण गर्नुभन्दा पनि मुकदर्शक बन्यो । तेह्रथुममा जाँदा पनि देउडी भन्ने ठाउँमा कालोझण्डा देखियो । यसमा कुनै चिन्ता छैन तर ठूलो दल र शीर्ष नेतालाई अवरोह सिर्जना गर्ने र एमालेको राम्रो पकड भएको ठाउँमा एमाले नेतामाथि आक्रमण गर्ने र राज्यबाट संरक्षित हुने कामलाई गम्भीर बनाएको छ । एउटा नेताको विपक्षमा केही मानिसलाई मन नपरेर उठाइएको विषय नभएर कसरी आतंक सिर्जना गर्न सकिन्छ, अस्थिरता कसरी सिर्जना गर्न सकिन्छ, कसरी अस्थिरतामा खेल्न सकिन्छ भनेर गर्न खोजिएको रिहर्सल जस्तो हामीले मानिरहेका छौँ ।’

एमालले अराजक गतिविधिलाई समयमा नै सचेततापूर्वक सोच्नुपर्ने बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १८:५९
Weather Update