
काठमाडौं— जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ। पार्टीको निर्देशन विपरीत काम गर्न थालेको भन्दै जनमत पार्टीले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको हो।
जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले शुक्रबार मुख्यमन्त्रीलाई स्पष्टीकरण सोधिएको पुष्टि गरे। उनका अनुसार मुख्यमन्त्री सिंहले सरकारको नेतृत्व गरेको दुई महिनामै पार्टीसँग समन्वय नगरी काम गर्न थालेपछी स्पष्टीकरण सोधिएको हो।
मन्त्रालय बाँडफाँड र मन्त्रिमण्डल विस्तारमा मनपरी गरेपछि पहिलो पटक पार्टीको तर्फबाट स्पष्टीकरण सोधिएको प्रवक्ता यादवको भनाइ छ।
उनले भने, ‘खासगरी मन्त्रिमण्डल विस्तारमा पार्टीसँग समन्वय गर्नु भएन, प्रदेश सांसदहरूलाई पाँच करोड दिने विवादास्पद अभिव्यक्ति दिनुभयो। पार्टीको निर्देशन विपरीत गतिविधि हुँदा पार्टीको बदनामी भइरहेको छ, यही विषयहरू राखी मुख्यमन्त्रीसँग जवाफ मागिएको छ।’
मुख्यमन्त्री सिंह जनताको काम भन्दा औपचारिक कार्यक्रमहरूको उद्घाटनतर्फ बढी लागेको समेत जनमत पार्टीले स्पष्टीकरण पत्रमार्फत आरोप लगाएको छ।
तर यता मुख्यमन्त्री सिंहले भने स्पष्टीकरण नियमित प्रक्रिया भएको बताए। उनले भने, ‘पार्टीको यो नियमित प्रक्रिया हो, केही विषयमा त्रुटि भएको होला त्यसलाई सुधार गर्न पार्टीले ध्यानाकर्षण गराएको हो। अरू केही होइन।’













