News Griha :: न्यूजगृह
सरकारले जबर्जस्ती करणी मुद्दा सबन्धी कानुन संसोधन गर्ने
कानुन न्याय तथा मानव अधिकार समिति बैठक। फाइल तस्बिर

काठमाडौं— मुख्यतयाः बलात्कार मुद्दामा किशोरहरू बालसुधार गृह र कारागारमा बस्नु पर्ने अवस्था आएपछि सरकारले कानुन परिवर्तन गर्ने भएको छ। 

१८ वर्ष नपुगी सहमतिमा भएका यौन सबन्ध पनि बलात्कारमा ठहरिने कानुनका कारण हजारौं किशोर सुधार गृह र कारागारमा बस्नु पर्ने अवस्था देखिए पछि सरकारले कानुन परिवर्तन गर्न लागेको हो।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले जबरजस्ती करणीसँग सम्बन्धित ऐन संशोधन गर्ने जानकारी दिएका छन्।

शुक्रबार प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिमा सांसदहरुले जबरजस्ती करणी र बलात्कारसँग सम्बन्धित मुद्दाका आरोपित र दोषीहरू बालसुधार गृह र कारागारमा बढी रहेको बताए पछि सरकारले कानुन परिवर्तन गरेर जबर्जस्ती करणीको मुद्दालाई वर्गीकरण गर्नु पर्नेमा जोड गरेका थिए।

जवाफमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री चौरसियाले जबरजस्ती करणीसँग सम्बन्धित ऐन संशोधन गर्ने प्रतिवद्धता जनाएका हुन्।

‘मन मिलेर यौन सबन्ध गर्छन, भाग्छन् अनि  फर्किएर समाजमा आएपछि परिवार र समाजको अवस्था हेरेर त्यसलाई बलात्कारको मुद्दामा लगिदिन्छन्, अनि सुरु हुन्छ अदालतमा मुद्दा चलाउने र मन नपरेको खण्डमा फसाउने हुन्छ,’ उनले भने, ‘प्रमाण नभए पनि मुद्दा चलाउने र पछि छोड्ने जस्तो गरिएको छ। यसमा संसदीय समितिको पनि निर्देशन होस्, सरकारले पनि कानुन सुधार गर्न लागि पर्छ।’ 

१८ वर्ष उमेर नपुगी भएको यौन सम्बन्धलाई जबरजस्ती करणी मान्ने नेपालको प्रचलित ऐन छ। जसका कारण मुख्यतयाः हजारौं किशोरहरू बिभिन्न सुधारगृह र कारागारमा बसिरहेका छन्।

प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले विराटनगर, वीरगञ्ज र बाँकेका बालसुधार गृह र कारागारको स्थलगत अध्ययन गरे पछि सो निष्कर्ष निकालेको हो।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १५:५१
Weather Update