News Griha :: न्यूजगृह
टीआरसी विधेयक मंगलबार प्रतिनिधि सभामा पेस हुने

काठमाडौं— सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) आगामी मंगलबार प्रतिनिधि सभामा पेस हुने भएको छ।

प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले आगामी बैठकमा पेस गर्ने व्यवस्थाका लागि सभामुख देवराज घिमिरेलाई आग्रह गरेको छ।

कानुन समितिका सभापति विमला सुवेदीले शुक्रबार सभामुख घिमिरेलाई भेटेरै यस्तो आग्रह गरेकी हुन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा कानुन समितिका सदस्यहरू र संसद् सचिवालयका अधिकारीसमेत उपस्थित थिए।

आगामी बैठकमा विधेयक पेस गर्ने व्यवस्थाका लागि समिति सभापति सुबेदीले पत्र बुझाएपछि सभामुख घिमिरेले महत्वपूर्ण काम भएको भनेर धन्यवाद दिए।

यो विधेयक गत बिहीबार प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिबाट दफावार छलफलसहित सर्वसम्मत रुपमा पारित भएको थियो।

संसद्को बैठक साउन २९ (मंगलबार) लाई तोकिएको छ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १५:२२
Weather Update