दरबारमार्गको भ्वाङ परेको सडकमा खसेर इन्स्पेक्टर घाइते

काठमाडौं— काठमाडौं टुकुचा छोपेर बनाइएको दरबारमार्ग-काठमाडौं प्लाजाबीचको सडकमा बिहीबार राति भ्वाङ परेको छ। त्यो भ्वाङमा खसेर एक प्रहरी इन्स्पेक्टर घाइते भएका छन्।
स्थानीयले बिहीबार राति सडक भासिएको खबर गरेपछि दरबारमार्गमा कार्यरत् इन्स्पेक्टर भूपेन्द्र बुढाथोकी सडकको निरीक्षणमा पुगेका थिए। सो क्रममा उनी भ्वाङमा खसेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए।
बुढाथोकीको निधार र हातमा चोट लागेको छ। उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो। निधारमा उनलाई टाँकासमेत लगाइएको छ। उनी डिस्चार्ज भइसकेको अधिकारीले बताए।
भ्वाङ परेपछि रातिदेखि नै यहाँ सवारी आवागमन प्रभावित भएको छ। ट्राफिकले अहिले यो सडक खण्ड बन्द गरेको छ। दरबारमार्गबाट काठमाडौं प्लाजतर्फ जान मिल्ने गरी यो बाटो एकतर्फी छ।
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१ ११:५३













