News Griha :: न्यूजगृह
मन्त्री नपाउँदा लुम्बिनीका कांग्रेस प्रमुख सचेतक तिमिल्सिनाले दिए राजीनामा

काठमाडौं— लुम्बिनी प्रदेश सभाका कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पदबाट राजीनामा दिएका छन्।

तिमिल्सिनाले कार्यव्यस्तताका कारण राजीनामा दिएको बताए। ‘मैले प्रमुख सचेतक नियुक्त हुँदा पनि धेरै समय दिन भ्याउँदिन भनेको थिएँ, त्यसैले राजीनामा दिएको हुँ,’ उनले भने।

तिमिल्सिनाले कार्यव्यस्तताको कारण राजीनामा दिएको भने पनि उनी निकट स्रोतले भने मन्त्री पद नपाउँदाको असन्तुष्टिका कारण राजीनामा दिएको बताउँछ।

तिमिल्सेनाले गत साउन २१ गते नै कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष राजीनामा दिएका थिए। उनले प्रमुख सचेतकले पाउने गाडी सुविधा पनि २१ गते नै प्रदेश सभामा बुझाइसकेका थिए।

तर चौधरीले प्रदेश सभालाई जानकारी नगराएकाले यो विषय ढिलो मात्र सार्वजनिक भएको हो।

चौधरीले तिमिल्सिनालाई फागुन १३, २०७९ मा प्रमुख सचेतक नियुक्त गरेका थिए। बर्दिया २ (१) बाट निर्वाचित तिमिल्सिना कांग्रेसभित्र संस्थापन पक्षका हुन्।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ०९:५२
Weather Update