News Griha :: न्यूजगृह
करिब २१ करोड मूल्य बराबरको कोकिनसहित विमानस्थलबाट विदेशी नागरिक पक्राउ

काठमाडौं— प्रतिबन्धित लागूपदार्थ कोकिनसहित एक विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।  

बुधबार नेपाल आएका लातभियाका नागरिक इभार्स भाल्तर्सलाई प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो र त्रिभुवन विमानस्थल भन्सार कार्यालयको संयुक्त टोलीले ६ किलो २४ ग्राम कोकिनसहित नियन्त्रणमा लिएको हो।

बरामद कोकिनको नेपाली बजार मूल्य २१ करोड ८ लाख रुपैयाँभन्दा बढी हुने प्रहरीले जानकारी दिएको छ। ब्युरो प्रमुख एसएसपी दिनेश आचार्यले पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको बताए।

कतार एअरवेजको जहाजमा नेपाल आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको आवागमन कक्षको 'वाक थ्रु' गेटमा जाँच गर्दा उनको साथमा रहेको सुटकेसमा शङ्कास्पद वस्तु देखिएको थियो। लगेज खोलेर जाँच गर्दा त्यसभित्र प्रतिबन्धित लागूऔषध कोकिन फेला परेको ब्युरोले जनाएको छ। कोकिन रिसिभ गर्ने तयारीमा रहेको गिरोहको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यसअघि असार ६ गते ४ जना विदेशी नागरिकसहित ४ किलो ५०४ ग्राम कोकिन बरामद भएको थियो। गत असार ९ मा तान्जानियाका नागरिक ४६ वर्षीय रामाधानी सिम्बा एम वाबुम्बा र ५२ वर्षीय त्वालिव किपेभु पाशुवालाई ठमेलको एक होटलबाट १ केजी २ सय ४७ ग्राम कोकिनसहित पक्राउ परेका थिए।

त्यस्तै साउन १ मा नेपाल आएका भारतीय नागरिक फाहिमुद्दीन नासिमुद्दीन अन्सारीलाई पनि ब्युरोको टोलीले नै ठमेलबाट जुसका २ वटा बट्टामा लुकाएको अवस्थामा १ केजी १ सय ग्राम कोकिनसहित पक्राउ गरेको थियो।

अन्सारीले पिंगलास्थानस्थित एक होटलमा बसेका नाइजेरियन नागरिक इकेचुक्वाकाइरिल ओबोदोइफुलाबाट लिएको बयान दिएका थिए। त्यसपछि ती ४४ वर्षीय नाइजेरियन नागरिकले पनि आफू कोकिन नेपाल आउने क्रममा साथमा लिएर आएको बयान दिएका थिए।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १६:१४
Weather Update