
काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार हेलिकप्टर दुर्घटनामा मृत्यु भएका चार जना चिनियाँ नागरिक नेपालमा लगानीका क्षेत्र खोज्दै आएको बताएका छन्।
सिंहदरबारमा बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार मन्त्री गुरुङले बारम्बार जहाज, हेलिकप्टर दुर्घटना हुँदा त्यसले पर्यटन क्षेत्रलाई मात्रै असर नपुर्याइ, बाह्य/अन्तर्राष्ट्रिय लगानीमा समेत असर पारेको बताएका छन्।
यसबारे मन्त्रिपरिषद्मा छलफल भएको समग्र समस्या समाधानका लागि नीतिगत सुधार गरेर जाने विषयमा पनि कुराकानी भइरहेको बताए।
‘हिजो चिनियाँ टोलीहरू घुम्नको लागि गएको होइन, कुनै न कुनै हिसाबले लगानीको क्षेत्र अवलोकनका लागि गएको देखिन्छ,’ उनले भने, ‘यसले गर्दा विदेशी लगानी पनि प्रभावित हुनसक्छ। विदेशीहरू कहाँकहाँ जानुपर्ने हुन्छ। हाम्रो आकाश सुरक्षित छैन, हाम्रो एयरलाइन्स, हेलिकप्टरहरू सुरक्षित छैन भन्ने देखाउँछ।’
उनले समग्र समस्या समाधान गर्न केकजस्ता नीतिगत व्यवस्था गर्नुपर्छ भन्नेमा छलफल भइरहेको बताए। कानुनमा कहाँकहाँ त्रुटि छन् नियामक संथा नेपाल नागरिक उड्डयन प्राधिकरणले किन नियमन गर्न सकेको छैन भन्ने विषयमा पनि छलफल भइरहेको र समग्र समस्या समाधानका लागि कानुनी सुधारको बाटो खोजिने बताए।
बारम्बार जहाज, हेलिकप्टर दुर्घटना हुनुलाई असाधारण घटनाको संज्ञा दिए।
‘यो असाधारण घटना हो। नयाँ सरकार आएपछि दुइटा शोक वक्तव्य जारी गरिसकेका छौँ। त्यसैले नेपाली आकाशलाई सुरक्षित र विश्वसनीय बनाउन नीतिगत सुधार गर्नुपर्छ,’ उनले भने।
बुधबार रसुवाको स्याफ्रुबेंसीका लागि उडेको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा दुर्घटना भएको थियो। पाइलट अरुण मल्लसहित हेलिकप्टरमा सवार पाँच जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा चार जना चिनियाँ नागरिकहरू टाङ जुटाओ, वु यियाओ, ली जेई र सेइ जिमिङ रहेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।













