
काठमाडौं— ठूलो मात्रामा विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२२ घर भएका ४६ वर्षीय महेशमान महर्जन, टोखा नगरपालिका–१० घर भएका ४९ वर्षीय मानव आचार्य र काठमाडौं महानगरपालिका–१४ घर भएका ३० वर्षीय दीपेश भुसाल छन्।
उनीहरु थाइ एअरवेजको उडानमार्फत काठमाडौंबाट बैङ्कक जान लागेका बेला बुधबार विमानस्थलबाट पक्राउ परेका हुन्।
महेशको साथबाट १६ हजार ५५० युरो, १० हजार ९०० क्यानडियन डलर बरामद भएको छ। मानवको साथबाट ८ हजार ९५० युरो, ३ हजार ६६० थाइ भाट बरामद भएको छ।
त्यस्तै दीपेशको साथबाट १३ हजार ४ सय युरो, २ हजार ४०० स्विस फ्रान्क, ४ हजार ५ सय क्यानडियन डलर, १८ हजार साउदी रियाल, २ हजार थाइ भाट र ४ लाख ९० हजार जापानिज येन बरामद भएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेकाहरूलाई कारबाहीका लागि प्रहरीले राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाएको छ ।













