News Griha :: न्यूजगृह
रामसहायप्रसादलाई आयोगले दियो उपराष्ट्रपतिको प्रमाणपत्र

काठमाडौं— सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादवलाई निर्वाचन आयोगले उपराष्ट्रपतिको प्रमाणपत्र प्रदान गरेको छ ।

शुक्रबार भएको उपराष्ट्रपति पदको निर्वाचनमा प्रतिस्पर्धी नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झालाई पराजित गरी विजयी भएका यादवलाई आयोगले उपराष्ट्रपतिको प्रमाणपत्र प्रदान गरेको हो ।

उनलाई निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र प्रदान गरे ।

प्रमाणपत्र प्रदान एवम् नतिजा घोषणा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, जसपाका नेताहरू र निर्वाचन आयोगका निर्वाचन आयुक्तहरुको उपस्थिति रहेको थियो ।

निर्वाचनमा ३० हजार ३२८ मतभारसहित यादव विजयी भएका हुन् । उनले संघीय सांसद १८४ र प्रदेश सभाका ३२९ को मत प्राप्त गरे ।

एमालेकी अष्टलक्ष्मी शाक्यको पक्षमा प्रदेश सभातर्फ १६९ र संघका १०४ सांसदले गरेको मतदानबाट १६ हजार ३२८ मतभार रह्यो भने जनमतकी ममता झाले प्रदेशमा १५ र संघमा २३ मत पाउँदा २ हजार ५३७ मतभार प्राप्त गरिन् ।

जसपाकी अर्की उम्मेदवार प्रमिला यादवले प्रदेशमा १ मतसहित ४८ मतभार पाएकी थिइन् । 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १८:३२
Weather Update