
काठमाडौं— बंगलादेशको अन्तरिम सरकार प्रमुख र सदस्यहरूले बिहीबार शपथ लिने भएको छ।
बंगालदेशको सेनाका प्रमुख वाकर उज जमानले डा मोहमद युनुस नेतृत्वको अन्तरिम सरकारका सदस्यहरूले आज (बिहीबार) शपथ लिने जानकारी दिएका हुन्।
सेना प्रमुख जमानले अन्तरिम सरकार १५ सदस्यीय हुने बताएका छन्।
साथै उनले बंगलादेशमा ३/४ दिन भित्र पूर्ण रुपमा शान्ति बहाली हुने बताएका छन्। उनले देशमा पछिल्ला दिनहरूमा लुटपाट र तोडफोडका घटनाहरूमा संलग्न सबैलाई कानुनको दायरामा ल्याउने बताउँदै देशमा शान्ति बहाल गर्न एअर फोर्स र नेविले मिले काम गरिरहेको समेत जानकारी दिए।
उनले अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका युनुससँग आफूले कुरा गरेको र उनको नेतृत्वमा देश छिट्टै प्रजातान्त्रिक प्रकृयामा फर्किने विश्वास व्यक्त गरेका छन्।
गत सोमबार शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छोडेपछि अनिश्चित बनेको बंगलादेशको राजनीति अब विस्तारै ट्रयाकमा आउने देखिएको छ।
आन्दोलनरत विद्यार्थीहरूको माग बमोजिम राष्ट्रपति मोहम्मद शहाबुद्धिनले संसद् भङ्ग गरेर नोबेल पुरस्कार विजेता डा युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरेका थिए। युनुस बिहीबार (आज) मात्रै बंगलादेश पुग्दै छन्। उनी निजि कामको सिलसिलामा फ्रान्समा थिए।













