-1723085616.jpg)
काठमाडौं— बुधबार दिउँसो एअर डाइनोस्टीको हेलिकप्टर भक्तपुरको नलिनचोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको थियो।
चिनियाँ नागरिकलाई स्याफ्रुबेंसी छाडेर त्यहाँबाट अमेरिकी नागरिकलाई काठमाडौं ल्याउने योजना थियो। तर विडम्बना हेलिकप्टर उडान भरेको तीन मिनेटपछि सम्पर्कविहीन भएको थियो।
दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरीस्थित सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो। सवार पाँचै जनाको ज्यान गयो।
एअर डाइनेस्टीको हेलिकप्टरका पाइलट अरुण मल्ल वरिष्ठ र अनुभवी पाइलट थिए। उनले करिब सात हजार घण्टा उडान भरेका छन्। लोड पनि धेरै थिएन। चार जना मात्रै यात्रु थिए। तर पनि कसरी दुर्घटना भयो भनेर प्राधिकरणका अधिकारीहरू पनि आश्चर्यमा परेका छन्।
‘दुर्घटना अप्रत्याशित छ। आजको मौसम सफा थियो। काठमाडौंमा ‘भीएफआर फ्लाइट’ चलिरहेको थियो। काठमाडौंबाट पाँच किलोमिटरसम्मको भिजिबिलिटी क्लियर थियो। तर, पनि कसरी दुर्घटना भयो। मौसम बिग्रिएर भयो कि अरु कारणले भयो भन्नेबारे जाँच आयोगको प्रतिवेदनपश्चात् मात्रै भन्न सकिन्छ,’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले भने, ‘काठमाडौंको नजिकै जुन किसिमको हवाई दुर्घटना भएको छ, यसले प्राधिकरणलाई गम्भीर बनाएको छ, प्राधिकरणले पनि आफ्नो आन्तरिक छानबिन गर्नेछ। एअरलाइन्सको आन्तरिक सेफ्टी अडिट पनि गर्छौँ।’
सूचना अधिकारी भूलले उडान सुरक्षामा प्राधिकरणले गम्भीरतापूर्वक कार्य गरिरहँदा पनि हवाई दुर्घटना दर बढिरहनु चिन्ताको विषय हो भन्दै एयरलाइन्स सञ्चालन गर्ने कि बन्द गर्ने अवस्थामा पुगेको बताए।
‘अब, यहाँ कमर्सियल कुरा हैन कि एअरलाइन्स चलाउने कि बन्द गर्ने अवस्थामा पुगिसकेका छौँ,’ उनले भने, ‘हामीले उडान सुरक्षामा यति गर्दागर्दै पनि किन दुर्घटना भइरहेको छ, भन्ने कुरा पत्ता लगाउन जरुरी छ, प्राधिकरणले सबै एअरलाइन्सको सेफ्टी अडिट इन्भेष्टिगेसन गरेर आगामी दिनमा कसरी जाने भन्ने रणनीति तय गर्नेछ।’
तस्बिरहरु: एएफपी