News Griha :: न्यूजगृह
बंगलादेशमा विकशित घटनाक्रमबारे नेपालले भन्यो- उदार जनता सङ्क्रमणलाई शान्ति र स्थिरतातर्फ सहज लैजान सक्षम हुनेछन्

काठमाडौं— नेपाल सरकारले बंगलादेशका जनतालाई शान्त र संयम रहन अपिल गर्दै व्यवस्थित रुपमा लोकतान्त्रिक प्रक्रियामा फिर्तीका लागि जोड दिएको छ। परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको जनाएको छ।  

'बंगलादेशमा विगत केही सातादेखि भएको विरोध प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति हामी गहिरो चिन्तित छौँ। ज्यान गुमाउनेहरुका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं,' विज्ञप्तिमा छ, 'हामी सबैलाई शान्त र संयमताका लागि आह्वान गर्दछौँ र लोकतान्त्रिक प्रक्रियामा व्यवस्थित फिर्ताको महत्त्वलाई जोड दिन्छौँ । हामी विश्वस्त छौँ कि, बंगलादेशका उदार जनताले सङ्क्रमणलाई शान्ति र स्थिरतातर्फ सहज लैजान सक्षम हुनेछन् ।'

बंगलादेशमा आइतबारदेखि हिंसात्मक प्रदर्शन चर्किएपछि प्रधानमन्त्री शेख हसिनाले सोमबार पदबाट राजीनामा दिँदै मुलुक छाडेकी छन्। त्यसपछि अन्तरिम सरकार गठनका लागि मंगलबार राष्ट्रपति मोहम्मद शहाबुद्धिनले संसद् भंग गरेका थिए। बंगलादेशमा नोबेल पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन प्रक्रिया सुरु भइसकेको छ। त्यहाँका सेना प्रमुख जनरल वकेर-उज-जमानले अन्तरिम सरकारले बिहीबार शपथ लिने बताएका छन्।

बुधबार दिउँसो पत्रकार सम्मेलन गर्दै जनरल वाकरले अन्तरिम सरकारले बिहीबार साँझ ८ बजे शपथ ग्रहण गर्ने सम्भावना रहेको बताए। उनले सल्लाहकार समितिमा १५ सदस्यीय हुन सक्ने पनि बताए । बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरोध गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरूका कारण शेख हसिना नेतृत्वको सरकार ढल्न पुगेको हो ।
 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ०६:३९
Weather Update