News Griha :: न्यूजगृह
एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाः कारण खराब मौसम? 

काठमाडौं— खराब मौसमका कारण एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको आशङ्का गरिएको छ। शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाका अनुसार दुर्घटनास्थलको भौगोलिक अवस्था हेर्दा खराब मौसमका कारण दुर्घटना भएको जस्तो देखिएको छ।

उनका अनुसार दुर्घटनाग्रस्त क्षेत्रमा बिहानैदेखि बाक्लो कुहिरो लागेको थियो। हेलिकप्टर कुनै पहाडमा ठोक्किएको नदेखिएको भन्दै उनले दुर्घटनास्थल बरु खोँच जस्तो ठाउँ रहेको बताए। 

‘कतिपयले हेलिकप्टर पहाडमा ठोक्किएको भनेका छन्। तर भौगोलिक अवस्था हेर्दा त्यस्तो होइन।  कुहिरोका कारण हेलिकप्टर तलबाट आएर दुर्घटना भएको जस्तो हुनसक्छ,’ उनले भने।

उनका अनुसार हेलिकप्टर गुर्जे भन्ज्याङबाट सूर्यचौर नपुग्दैको जङ्गलमा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा ५ जनाको शव फेला परेको छ। 

एअर डाइनेस्टीको हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौं टावरसँग सम्पर्क विच्छेद भएको थियो।

नागरिक उड्डयन प्राधिकरणले बुधबार एक विज्ञप्ति जारी गर्दै भक्तपुरस्थित नलिनचोक  हेलिप्याडबाट दिउँसो १ बजेर ५४ मिनेटमा उक्त हेलिकप्टर उडेको थियो। २ बजेर १४ मिनेटमा उक्त हेलिकप्टर दुर्घटनामा परेको आशङ्का गरिएको छ। 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १६:५२
Weather Update