
काठमाडौं— मधेस प्रदेशमा सत्ताको चरम दुरुपयोग गरिएको छ। जनमत पार्टीका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार ५ जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद् २० सदस्यीय पुर्याएका छन्।
प्रदेश सरकार प्रभावकारी नभएको भन्दै आम रुपमा आलोचना भइरहेको बेला मधेस सरकारमा मुख्यमन्त्रीसहित १२ मन्त्रालयमा थप ८ राज्यमन्त्री थपेर सत्ताको चरम दुरुपयोग गरिएको छ।
सत्ता टिकाउन र गठबन्धनमा रहेका दलहरूलाई भागबन्डा पुर्याउने नाममा प्रदेशमा यसरी सरकार निर्माण गर्नु आफैमा नमिल्ने र आम रुपमा स्वीकार्य नहुने देखिएको छ।
यो मधेसमा अहिलेसम्मको सबैभन्दा ठुलो मन्त्रिपरिषद् हो । मंगलबार एमालेबाट मो जयद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएका छन्।
त्यस्तै, कांग्रेसबाट रेखा ठाकुर भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजक उर्जा सिँचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्रीमा नियुक्त भएका छन्।
त्यस्तै लोसपाबाट रामबाबु यादव शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतबाट शम्भु साह उद्योग पर्यटन राज्यमन्त्रीमा नियुक्त भएका छन्।