-1722959836.jpg)
काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी अब सरकार बनाउने र भत्काउने खेलमा नलाग्ने बताएका छन्।
विराटनगरमा मंगलबार कोशी प्रदेशका नेता तथा कार्यकर्ताको भेलामा पार्टी सत्तामुखी भएकाले सङ्गठन कमजोर भएको भन्ने प्रश्न उठेपछि प्रचण्डले आगामी दिनमा माओवादी पार्टीले अब पार्टी निर्माणमै ध्यान दिने बताएका हुन्।
उनले पार्टी सरकारमा जाने अवस्था आए पनि आफू प्रधानमन्त्री नबन्ने दाबी पनि गरे। ‘सरकारको नेतृत्व गरेर जाने अवस्था आयो भने पनि म प्रधानमन्त्री हुन्न,’ प्रचण्डको भनाइ थियो, ‘त्यस्तो अवस्थामा अरु नेताहरू नै जानुहुन्छ।’
‘म अब सरकार बनाउने र भत्काउने खेलमा लाग्दै लाग्दिनँ। म त पार्टी निर्माणतिरै फर्केका छु,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, ‘मलाई अब पार्टी बनाउने अन्तिम अवसर छ। त्यसका लागि प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता पनि व्यक्त गर्छु। अब सबै नेता तथा कार्यकर्ताको ध्यान पनि यसमै हुनुपर्छ।’
सरकार सङ्कटमा नपर्दै तपाईंले किन कांग्रेससँगको गठबन्धन तोड्नुभयो त भन्ने प्रश्नमा प्रचण्डको भनाइ थियो, ‘मैले समाजवादमा जाने भनेपछि कम्युनिस्ट एकताका लागि केपी ओलीसँग गठबन्धन गरेको हुँ। कांग्रेससँग गठबन्धन भएपछि अब ओलीको व्यवहार छर्लङ्ग भएको छ।’