मधेसमा जम्बो मन्त्रिपरिषद्, थपिए पाँच राज्यमन्त्री

धनुषा— मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ५ जना राज्यमन्त्री नियुक्त गरेका छन्।
मन्त्रालयको सङ्ख्या १२ रहेको मधेस प्रदेशमा मन्त्रिपरिषद्को सङ्ख्या २० पुगेको छ। यो मधेसमा अहिलेसम्मको सबैभन्दा ठुलो मन्त्रिपरिषद् हो।
मंगलबार एमालेबाट मो. जयद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएका छन्। त्यस्तै, कांग्रेसबाट रेखा ठाकुर भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजक उर्जा सिँचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्रीमा नियुक्त भएका छन्।
त्यस्तै लोकतान्त्रीक समाजवादी पार्टीबाट रामबाबु यादव शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमत पार्टीबाट शम्भु साह उद्योग पर्यटन राज्यमन्त्रीमा नियुक्त भएका छन्।
उनीहरूले आजै शपथ समेत लिएका छन्।
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१ २१:३०