
बागलुङ— पहिरोमा परी बागलुङको बडिगाडमा ६ बालबालिकासहित ८ जनाको मृत्यु भएको छ।
मंगलबार बिहान खसेको पहिरोमा बडिगाड गाउँपालिका–९ बलघाँसमा खसेको पहिरोले १५ वर्षीय विधान परियार र २४ वर्षीय गङ्गा बस्नेतको मृत्यु भएको मृत्यु भएको हो।
घर पछाडि आएको पहिरो पन्छाउन गएका परियारलाई पहिरोले पुरेको हो। पहिरो पन्छाउने क्रममै उनको घटनास्थलमै मृत्यु भएको थियो भने बस्नेतको पहिरोमा पुरिएको अवस्थामा शव भेटिएको प्रहरीले बतायो।
घटनास्थलमा उद्धार टोली पुगेर घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।
त्यस्तै वडा नं १० को आरुपाटा भन्ने स्थानमा खसेको पहिरोले स्थानीय जोगलाल बुढाको घर र गोठ पुरिँदा ७ वर्षका जुम्ल्याहा मालती बुढा र मधु बुढा, १३ वर्षका मनोज बुढा र १२ वर्षका अमन बुढाको पनि मृत्यु भएको हो।
सोही घरमा आएकी छिमेकी सन्जु विककी ६ वर्षीया छोरीको पनि मृत्यु भएको छ। सोही घटनामा ५९ वर्षीया मैतीदेवी विकको पनि मृत्यु भएको हो ।
प्रहरी र स्थानीयसहितले बुढाको घर पुरिएको स्थानमा खोजी गर्दा शव भेटिएको हो। बिहान १० बजेको समयमा खसेको पहिरोले छिमेकी समेत आएको बेला बुढाको घर पुरिएको थियो। घटनामा अझै कति बेपत्ता छन् भन्ने खुलेको छैन।
उक्त घटनामा ४६ वर्षीया सङ्गीता बुढा, ५९ वर्षीया सुमित्रा विक, ३२ वर्षकी सीता थापा र ४२ वर्षीय मंगलसिं बुढा गम्भीर घाइते छन्।
उनीहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्यकेन्द्र बुर्तिबाङ पठाउने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।
घर भत्केर पुरिएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङ र आसपासको प्रहरीको उद्धार टोली त्यसतर्फ गएको हो।
वडाध्यक्ष वीरेन्द्र बुढाले पनि घटनास्थल जाने झोलुङ्गे पुल भत्केकाले उद्धारमा कठिनाइ भएको बताए। लगातार वर्षा भएकोले उद्धार टोली पनि पैदलै जान बाध्य भएका हो।













