
काठमाडौं— संसदीय समितिले चाडपर्व सुरु हुनुभन्दा अघि दैनिक उपभोग्य वस्तु तथा सेवाको अस्वाभाविक मूल्य नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ।
मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो।
बैठकमा बोल्दै समिति सभापति सोनाम ग्याल्जेन शेर्पाले बजारमा दैनिक उपभोग्य तथा अतिआवश्यक वस्तु तथा सेवामा हुने गरेको कृत्रिम अभाव र कालोबजारीको समस्याले आमनागरिक आक्रान्त भइरहेको सन्दर्भमा नेपालको संविधानले व्यवस्था गरेको मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिए।
देशभर गुणस्तरीय वस्तु तथा सेवामा सहज रुपमा आपूर्ति गरी कृत्रिम अभाव र कालोबजारी रोक्न पनि समितिले निर्देशन दिएको छ। नियमित बजार अनुगमन गर्न र सर्वसाधारणको सहज पहुँच हुनेगरि तत्काल सुपथ मूल्य पसलको समयावधि र क्षेत्रगत दायरा विस्तार गर्न उनले निर्देशन दिएका हुन्।
उपभोक्ता सचेतना कार्यक्रमलाई निरन्तरता दिँदै प्रत्येक पसलमा मूल्यसूची अनिवार्य रुपमा राख्ने व्यवस्था र तीन तहको सरकारसँग समन्वय गरी प्रभावकारी बजार अनुगमन गर्न नेपाल सरकारलाई निर्देशन दिने उनले बताए।













