
काठमाडौं— हिजो रातिदेखि मनसुन सक्रिय भएसँगै यतिखेर उपत्यका सहित विभिन्न ठाउँमा वर्षा भइरहेको छ। वर्षाकै कारण उपत्यकाको नदी आसपास क्षेत्र डुबानमा परेका छन्।
काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका उपरीक्षक विष्णु प्रसाद जोशीका अनुसार सानोभर्याङ, जडिबुटी, बल्खु तरकारी बजार, माइतीघर मण्डला क्षेत्रलगायत नदी किनाराका क्षेत्रमा बाढी पसेको छ।
वर्षात् कै कारण काठमाडौं उपत्यकामा बिहानै देखि सवारी साधन जाम पनि बढेको छ। समयमा गन्तव्यमा पुग्न नसक्दा यात्रुहरू हैरानी खेप्न बाध्य भएका छन् भने जाम व्यवस्थापन गर्न ट्राफिक प्रहरीहरूलाई हम्मेहम्मे परेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी विश्वराज खड्काले निरन्तर परेको वर्षा कारण यसरी सवारिसाधन जाममा परेको जानकारी दिए। उनका अनुसार यतिखेर वैकल्पिक मार्ग (विष्णुमती–बागमती–धोबिखोला) करिडोर अवरुद्ध हुँदा मुख्य सडकहरू जाम भएको छ।
उनले भने ,‘केही ठाउँमा ढल फुटेकाले पनि सवारिसाधन आवागमनमा समस्या भयो।’ उनका अनुसार माइतीघर मण्डला, थापाथली, पुतलीसडक, सिंहदरबार लगायत क्षेत्रमा यतिखेर जाम भइरहेको छ।
उक्त जाम व्यवस्थापनको लागि टिम नै बनाएर सडकमा खटिएको उनले बताए। ‘अब वर्षा कम हुँदै गएको छ, त्यसैले विस्तारै यो समस्या समाधान हुँदै जान्छ,’ उनले भने।













