
काठमाडौं— मौसम पूर्वानुमान विभागले देशका विभिन्न जिल्लामा रहेका नदीहरूमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।
आज सिन्धुपाल्चोक, काठमाडौ, ललितपुर, भक्तपुर, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रूपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने ससाना नदीहरूमा बहाव बढ्ने तथा आकस्मिक बहावको उच्च जोखिम अतिउच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
त्यस्तै विभागले काठमाडौंस्थित विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र सो नदी किनार भई यात्रा गर्नेहरूले दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
त्यसैगरी ललितपुरस्थित खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको, नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले दिउँसो २ बजे सम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
त्यस्तै विभागले आज मेलम्ची, बागमती, विष्णुमती, धोबी खोला, हनुमन्ते खोला, कालिगण्डकीको सहायक नदीहरू, तिनाउ, वाणगङ्गा, कञ्चनखोला, दानो खोला लगायतका अन्य ससाना नदीमा बहाव बढ्ने, केही नदीमा आकस्मिक बहावको उच्च जोखिम रहेको उल्लेख गर्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।













