
काठमाडौं— अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित बन्न पुगेको छ।
अविरल वर्षा र बाक्लो हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज उडान तथा अवतरणमा समस्या आएको हो ।
मङ्गलबार बिहानदेखिको वर्षाले जहाज उडान तथा अवतरणमा समस्या आइरहेको त्रिभुवन विमानस्थलमा प्रवक्ता सुवास झाले बताए।
खराब मौसमकै कारण केही जहाज अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् भने केही डाइभर्ट समेत भएको उनले जानकारी दिए। यताबाट बिहानै उडान सेड्युलमा रहेका जहाज पनि अविरल वर्षाका कारण प्रभावित हुन पुगेको झाको भनाई छ।
विमान अवतरणका लागि कम्तीमा एक हजार मिटरको भिजिबिलिटी आवश्यक पर्छ । अहिले त्रिभुवन विमानस्थलको भिजिबिलिटी एक हजार भन्दा कम रहेको जनाएको छ।
खराब मौसमका कारण इस्तानबुलबाट काठमाडौं आएको टर्किस एअरलाइन्स उतै डाइभर्ट भएको छ भने फ्लाइ दुबई र डुक एअर अवतरण गर्न नसकेर आकासमा नै होल्ड भएका छन्।













