काठमाडौं— ललितपुर महानगरपालिका- २२ बुङमतीकी प्रमिला शाक्य (३१) को बिहेपछि सन्तान भए । त्यसपछि उनी आफूले गर्दै आएको नियमित जागिरमा जान सकिनन् । स्थानीय सहकारीमा काम गरिरहेकी प्रमिलाको बिहेपछि पैसा आउने बाटो बन्द भयो ।
बच्चाहरू हुर्किएर स्कुल जान थालेपछि दिउँसो के गर्ने भन्ने छटपटी हुन थाल्यो । त्यसैले बच्चाहरू स्कुल जान थालेपछि काम गर्ने तलतल मेट्न काष्ठकलाको प्रशिक्षण लिन गइन् । अहिले उनै प्रमिला कलात्मक झ्याल, ढोकामा बुट्टा कुँद्ने काम गर्छिन् । त्यो पनि आफ्नै घरमा बसेर ।
सबा नेपाल नामक संस्थाबाट आधारभूत र उन्नत (एड्भान्स) प्रशिक्षण लिने अवसर पाएपछि अहिले प्रमिला व्यावसायिक रूपमै काठमा बुट्टा कुँद्ने काम गर्दै आएकी छन् । काम गर्न थालेपछि हातमा पैसा पनि आउन थाल्यो । त्यसले उनलाई आत्मनिर्भर भएर काम गर्नुपर्छ भन्ने आत्मविश्वास झन् बढेको छ ।
यो पनि पढ्नुहोस
काष्ठकलाको काम गर्ने उद्योगको काठ घरमै ल्याएर उनले ज्यालादारीमा काम गर्छिन् । उद्योगले १५० देखि १५० रुपैयाँ प्रतिस्क्वायर फिटको हिसाबले पारिश्रमिक दिने गरेको उनी बताउँछिन् ।
दैनिक ६ देखि १० स्क्वायर फिटसम्म काम गर्न सकिने प्रमिलाको भनाइ छ । 'काम गर्न सक्ने हो भने राम्रो छ । आफूले गर्न सक्नुपर्यो । हामीले कम्पनीको काम गर्ने हो । प्रति स्क्वायर फिटअनुसार पैसा पाउने हो हामीले,' प्रमिला भन्छिन् 'बच्चालाई खाना बनाएर, स्कुल पुर्याएर, सरसफाइ गरेर खाली समयमा काम गर्छौँ । घरमै बसेर गर्न मिल्ने काम भएकाले बाहिर जानु पर्दैन । घामपानी खानु परेन । राम्रो छ ।'
उनका अनुसार काठमा कुँदिने बुट्टाअनुसार पारिश्रमिकमा फरक पर्छ । घरमा बुवा र दाइहरूले काष्ठकलाको काम गर्थे । त्यसैले सानैदेखि प्रमिलाले ती कामहरू देख्दै आएकी थिइन् । सानोमा पढ्नुपर्ने र अलि बुझ्ने भएपछि सहकारीमा काम गर्न थालेकाले त्यतातिर उनको ध्यान गएको थिएन ।
तर, बिहेपछि केही समय घरमै बस्नुपर्दा प्रमिलाले आयआर्जन कसरी गर्ने भन्ने विषयमा सोच्दा काष्ठकलाको कामतिर उनको ध्यान गयो । अहिले उनी काष्ठकलालाई मुख्य पेशा बनाएर काम गरिरहेकी छिन् । त्यो पनि आफ्नै घरबाट ।
खोकनाकै रत्नमुनि शाक्य (४४) पनि विगत १६ वर्षदेखि काष्ठकलाकै काम गर्दै आएका छन् । काम सिकेपछि उनले एउटा सटर भाडामा लिएर सानो उद्योगसमेत चलाएका छन् । जसमा उनले दुई कर्मचारीसमेत राखेका छन् । कर्मचारीलाई पारिश्रमिक दिएर, सटर भाडालगायत बाँकी खर्च तिरेर मासिक ४० हजार रुपैयाँसम्म बचत हुने गरेको उनको भनाइ छ ।
त्यस्तै, बुङमतीकै देवकृष्ण तुलाधर (५४) पनि काठको मूर्ति, झ्याल, ढोका, ठेकी लगायतका सामग्रीहरू बनाएर बेच्दै आएका छन् । घरमा खेतको काम सकेर बाँकी समय काष्ठकलाको काम गर्दै आएको उनको भनाइ छ ।
ललितपुर उपमहानगरपालिका २१ खोकनाकी राधिका महर्जन (५४) तानमा कपडा बुन्ने काम गर्छिन् । सानै उमेरमा माइती कीर्तिपुर पाँगामा कपडा बुन्न सिकेकी राधिकाले ४० वर्ष पहिले बिहे गरेर खोकना आएकी थिइन् । खोकनामा पनि उनले त्यसलाई निरन्तरता दिँदै आएकी थिइन् । खासगरी परम्परागत नेवारी पोसाक बुन्दै आएकी राधिकाले आफूले बुनेका कपडा १६० रुपैयाँ प्रतिमिटर बिक्री गर्ने गरेको बताइन् ।
पहिले परम्परागत काठे तानमा कपडा बुन्ने गरेकी राधिकाले अहिले फलामको मेसिनमा कपडा बुन्छिन् । नेवारी हाकुपटासी, सललगायतका कपडाहरू बुन्ने गरेको उनको भनाइ छ । 'दैनिक ३ देखि ४ मिटर कपडा बुन्छु । घरको काम पनि गर्नुपर्ने हुन्छ । घरको काम सकेर बाँकी समयमा कपडा बुन्छु,' राधिका भन्छिन्, 'पहिले काठको तानमा कपडा बुन्थेँ । अहिले सबाले फलामको तान दिएको छ । सन् २००९ तिर तालिम दिएको थियो । त्यही बेला मेसिन पाएको हुँ ।' राधिकाले अरूलाई तालिम दिन पनि जान्छिन् ।
खोकनाकै चन्देश्वरी महर्जन (३८) घरबाटै गलैँचा बुन्ने गर्छिन् । उनले पनि घरको काम सकेर बाँकी समय गलैँचा बुन्दै आएकी छन् । उनी जस्तै उद्यमीहरूले गलैँचा उद्योगबाट काम ल्याएर घरमा बुन्ने काम गर्छन् । उनीहरूलाई ठेकेदारमार्फत काम आउने गर्छ ।
गलैँचाको साइज र बुट्टाको आधारमा पारिश्रमिक पाउने गरेको चन्देश्वरी बताउँछिन् । 'घरमै बसेर काम गर्न सकिन्छ । मैले गलैँचा बुन्छु । सानो र ठूलो साइजअनुसार पैसा पाउँछौ । ठूलो गलैँचाको १५ हजारसम्म दिनुहुन्छ । सानो गलैँचाको ६/७ हजारसम्म पाउँछौँ,' उनले भनिन्, 'बुन्न चैँ समय लाग्छ । कहिलेकाहीँ ३ महिनासम्म लाग्न सक्छ । फेरि हामीले घरको काम पनि गर्नुपर्ने हुन्छ ।'
खोकनाकै सन्तुमाया महर्जन (४८) सुकुल, चकटी, चप्पललगायत सामग्री बुन्दै आएकी छन् । सानै उमेरमा बुवाबाट सिकेकी उनले अहिले गलैँचासमेत बुन्ने गरेकी छन् । सबा नेपालबाट अर्डर आउने गरेको उनले बताइन् । उनले १२ वर्षको उमेरमा पाटन गएर सुकुल, चकटी बुन्न सिकेकी थिइन् ।
त्यस्तै, सोही ठाउँकी चन्केश्वरी महर्जन (५१) ले पनि घरबाटै गलैँचा बुन्छिन् । पहिले झोला बुन्दै आएकी उनले अहिले तालिम लिएर गलैँचा बुन्न थालेकी हुन् । गलैँचा कम्पनीको ठेकेदारले काम दिने गरेको उनले बताइन् ।
उनले पनि गलैँचाको बुट्टा, फिनिसिङअनुसारको पारिश्रमिक पाउने गरेको बताइन् । घरको काम सकेर बाँकी समयमा काम गर्नुपर्ने भएकाले एउटा गलैँचा बुन्न २ महिना लाग्ने गरेको उनको भनाइ छ । आफूले बुनेको गलैँचा कम्पनीले विदेशतिर पठाउने गरेको समेत बताइन् ।
बुङमतीकी कान्छी नापित (५०) धागोबाट मोजा, पञ्जा, टोपी बुन्दै आएकी छिन् । गाउँमै रहेको उद्योगबाट काम ल्याएर घरमै बुनाइको काम गर्ने गरेको उनले बताइन् । विगत १७ वर्षदेखि यही काम गर्दै आएकी उनले एक जोर मोजा, पन्जाको ३/४ सय रुपैयाँ पारिश्रमिक पाउने गरेको बताइन् ।
त्यसमा भरिने बुट्टाअनुसार पनि पारिश्रमिक फरक पर्ने उनले बताइन् । 'गाउँमा एउटा कारखाना छ त्यहीबाट धागो ल्याएर घरमा बन्छौँ । उहाँहरूले जोखेर धागो दिनुहुन्छ । घरको काम सकेर काम गर्न पाएका छौँ खुसी लाग्छ,' घरबाटै काम गरेर पैसा पनि आउँछ । एक जोर बुनेको ३ देखि ४ सयसम्म पैसा पाउँछौँ । बुट्टा, फिनिसिङअनुसार पैसा फरक पर्छ । जति राम्रो बनाउन सक्यो त्यति फाइदा हुन्छ ।'
रातो मच्छिन्द्र गृह-श्रमिक सीपमूलक महिला सहकारी संस्थाकी अध्यक्ष मनदेवी शाक्य २०६८ सालदेखि संस्था स्थापना गरेर गृह-श्रमिक महिलाको पक्षमा काम गर्दै आएको बताउँछिन् । ७५ सदस्य रहेको उक्त संस्थाले मासिक रूपमा बचत संकलन तथा सीपमूलक कार्यमा महिलाहरूलाई लगाउँदै आएको बताइन् ।
अध्यक्ष शाक्यले संस्थामा आबद्ध महिलाहरूले बत्ती काट्ने, बुनाइ, सिलाइको काम गर्ने, धूप बनाउने, इम्ब्रोइडरी प्लास्टिकको डोर म्याट बनाउने, काष्ठकलाको काम गर्ने, संगीत सिक्ने कामहरू गर्दै आएको बताइन् ।
खोकना र बुङमतीका अधिकांश व्यक्ति घरबाटै विभिन्न काम गर्दै आएका छन् । त्यसमा महिलाहरूको संख्या धेरै रहेको खोकना महिला जागरण समाजका संयोजक प्रकाश डंगोल बताउँछन् । घरको काम गरेर बाँकी समयमा आयआर्जनको काम गर्दै आए पनि स्वास्थ्य समस्या देखिएको डंगोलको भनाइ छ ।
महिलामा देखिएको प्रजनन् स्वास्थ्य समस्यालाई ध्यानमा राखेर गाउँमै स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएको भन्दै उनले गरिब तथा सीमान्तकृत, एकल महिला गृह-श्रमिकका सन्तानलाई मन्टेश्वरीमार्फत छात्रवृत्ति समेत प्रदान गरिएको बताए । यसका साथै गृह-श्रमिकका उत्पादनलाई संकलन केन्द्रमार्फत बजारमा लैजाने गरेको भन्दै शिक्षा, स्वास्थ्य एवं सचेतनाको क्षेत्रमा समेत काम गरेको संयोजक डंगोलले बताए ।
गृह-श्रमिकको पक्षमा काम गर्दै आएको गृह-श्रमिक सरोकार समाजका कार्यक्रम अधिकृत ज्योती शाक्य काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, नुवाकोट, सुनसरी र मोरङका गृह-श्रमिकलाई संगठित गर्दै आएको बताइन् । विशेषगरी गृह-श्रमिकलाई सीपमूलक तालिम दिने, अधिकारको पैरवी गर्न सिकाउने गर्दै आएको बताइन् ।
शाक्यले कोभिडपछि गृह-श्रमिकहरू समस्यामा रहेको बताउँछिन् । लकडाउनका कारण बाह्य हवाई उडान बन्द भएकोले उलनको कामहरू ठप्प हुँदा गृह-श्रमिक प्रत्यक्ष मारमा परेको उनको भनाइ छ । २२ अगस्ट २०२२ पछि मात्र अधिकांश देशको बाह्य हवाई उडान खुला भएपछि काम आउन थालेको शाक्य बताउँछिन् ।
उलनको बजार अहिले नेपालमा पनि केही बढ्न थालेपनि यसअघि विदेशमा नै जाने गरेको उनको भनाइ छ । तर, ठेकेदारमार्फत गृह-श्रमिकहरूले काम गर्दै आएका कारण सानो कमजोरीमा पनि ठूलो रकम कटौती हुँदा समस्यामा रहेको शाक्यले बताइन् । 'कोभिडपछि उलनको काम गर्ने गृह-श्रमिकको काम त ठप्प नै भयो । अहिले बाहिर खुलेपछि काम सुरु भएको छ,' उनले भने, 'तर, सानो काम बिग्रिने बित्तिकै ठेकदारले ठूलो रकम काट्दिन्छ । कहिले बुट्टा बिग्रियो, कहिले म्याचिङ भएन भनेर विभिन्न नाममा पैसा काट्दिन्छ । दिनभरि काम गरेर २०० रुपैयाँ कमाउन गाह्रो छ । जसका कारण उहाँहरू मारमा पर्नुभएको छ ।'
आर्थिक अवस्था कमजोर भएका तथा एकल महिलाहरूलाई झन् बढी अप्ठ्यारो अवस्था रहेको शाक्यको भनाइ छ । उनले भने, 'कतिपय गृह-श्रमिक एकल महिला, आर्थिक अवस्था कमजोर भएका छन् । जसको सम्पूर्ण परिवार नै उहाँसँग निर्भर छन् । त्यस्ता श्रमिकलाई बढी अप्ठ्यारो हुने गरेको छ ।'
सबा नेपालकी शान्ता शाक्य संस्थामा संगठित गरेर महिलालाई सीपमूलक तालिम दिइरहेको बताइन् । सीपमूलक तालिमसमेत दिँदै आएकी उनले श्रमिकका समस्या समाधानका लागि काम गर्दै आएको बताउँछिन् ।
यसैबीच, काठमाडौंमा बेला भएका २९ देशका गृह-श्रमिकहरूले काठमाडौं उपत्यकाको विभिन्न स्थानमा अनुगमन गरेका छन् । गृह-श्रमिकहरूको अन्तर्राष्ट्रिय सञ्जाल होमनेट इन्टरनेशनलको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भेला भएका श्रमिक नेताहरूले आसपासका गृह-श्रमिकको कार्यस्थल, गृह-श्रमिकको क्षेत्रमा काम गर्ने संस्थाहरूको अवलोकन, अध्ययन गरेका हुन् ।
श्रम तथा सामाजिक अध्ययन केन्द्र (क्लास नेपाल), गृह-श्रमिक सरोकार समाज नेपाल, खोकना महिला जागरण समाज, साथी संस्था, मानव अधिकारका लागि महिला, सबा नेपाल, रातो मच्छिन्द्र गृह-श्रमिक सीपमूलक महिला सहकारी संस्थामार्फत गृह-श्रमिक नेताहरूले बुङमती, खोकना, गोदावरी, भक्तपुर ब्यासी, गोकर्णेश्वर, मनोहरा, सुनाकोठीलगायत क्षेत्रमा अवलोकन गरेका थिए ।
आफ्नै स्वामित्व वा विभिन्न साना ठेकेदारमार्फत काम गर्ने कामदारहरू काम गर्ने क्रममा आफूले भोग्दै आएका कठिनाइका विषयमा छलफल गर्न २९ देशका १२७ श्रमिक काठमाडौंमा उपस्थित भएका हुन् ।
गृह-श्रमिकहरूको संस्था होमनेट इन्टरनेशनलको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा पहिलोपटक काठमाडौंमा आयोजना गरिएको हो । विश्वभरका १२ लाख गृह-श्रमिकहरूको प्रतिनिधित्व गर्ने होमनेट इन्टरनेशनलमा ९५ प्रतिशत महिला श्रमिक रहेको तथ्यांक छ ।
सन् १९७० को दशकदेखि विश्वभरका गृह-श्रमिक महिलाहरू संगठित हुन सुरु गरेका थिए । अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले सन् २०१९ मा गरेको एक अध्ययन अनुसार संसारभर २६ करोडभन्दा बढी गृह-श्रमिक छन् । जसले विश्व श्रम बजारको ८ प्रतिशत कामदार समेट्छ । २६ करोडमध्ये १४ करोड ७० लाख अर्थात् ५७ प्रतिशत गृह-श्रमिक महिला छन् । त्यसमध्ये पनि झन्डै दुई तिहाइ (६५ प्रतिशत) गृह-श्रमिक एसिया क्षेत्रमा क्रियाशील रहेको होमनेट दक्षिण एसियाको क्षेत्रीय संयोजक सृष्टि मल्ल जोशी बताउँछिन् ।
यस संस्थामा ल्याटिन अमेरिका, अफ्रिका, दक्षिण एसिया, दक्षिण पूर्वी एसिया र पूर्वी युरोप तथा मध्य एसियाका ३३ देशहरूबाट गृह-श्रमिक सम्बन्धित ७५ संस्थाहरू आबद्ध छन् ।