काठमाडौं— बंगलादेशकी पूर्वप्रधानमन्त्री एवं विपक्षी दलकी नेतृ खालिदा जिया जेलबाट रिहा हुने भएकी छन्।
बंगलादेशका राष्ट्रपति मोहमद शहबिद्दीनले जेलमा रहेकी खालिदा जियालाई तत्काल रिहा गर्न आदेश दिएको स्थानीय मिडियाहरूले उल्लेख गरेका छन्।
७८ वर्षीया जिया सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि हाल जेलमा रहेकी छन्।
यसैबीच नोबेल पुरस्कार विजेता मोहमद युनुसको नेतृत्वमा बंगलादेशमा अन्तरिम सरकार गठनको तयारी सुरु भएको बताइएको छ।
आरक्षण विरोधी अभियानका संयोजक नाहिद इस्लामले युनुसको नेतृत्वमा अन्तरिम सरकारको रूपरेखा तयार भइरहेको बताएका छन्। युनुसले बंगलादेशमा ग्रामीण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान सञ्चालन गरेका कारण २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए।
सोमबार प्रधानमन्त्रीबाट राजीनामा दिएर भारतको शरणमा रहेकी शेख हसिना भने अहिलेसम्म भारतमै रहेकी छन् भने उनी लन्डन जानसक्ने बताइएको छ।